गाेरखा । शहीद लखन र गण्डकी गाउँपालिका वीच भगीनी सम्बन्ध कायम भएकाे छ । छिमेकी पालिका रहेका दुइ गाउँपालिकाकाे सँयुक्त बैठक शहीदलखन थापा गाउँपालिकामा सम्पन्न भएकाे छ । पालिकामा भएका राम्रा कामहरुकाे बारेमा अनुभव आदानप्रदान गर्ने काम भएकाे गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार दुवै पालिकाका असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्ने र राम्रो कामहरु दुवै पालिका अनुशरण गर्ने निर्णय गरेको हाे ।
शहीदलखन र गण्डकी गाउँपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका क्षेत्रहरुको एक पालिकाले अर्को पालिकाको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा सहयोग गर्ने वैठकले निर्णय भएकाे छ ।
पालिकामा रहेका कर्मचारीहरु वीचकाे आन्तिरक पर्यटनमा एक अर्काले सहयाेग गर्ने निर्णय भएकाे छ ।
दुइवटै पालिकाकाे रणनीतिक महत्वकाे सडक लक्ष्मीबजार, लुदीखोला, तीनमाने, बतासे, फुजेल, दलभज्याङ, तोलक हुँदै सिउरेनीटार सडकको स्तरउन्नतिका लागि दुवै गाउँपालिकाबाट बजेट विनियोजन गर्ने र मातहतका निकायलाइ समेत सँयुक्त रुपमा बजेट व्यवस्थापनका लागि अनुराेध गर्ने निर्णय भएकाे हाे ।

कार्यक्रम शहिदलखन थापा गाउँपालिका अध्यक्ष रमेश थापा मगरकाे अध्यक्षता र गण्डकी गाउँपालिका अध्यक्ष हाेम बहादुर रानाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । प्रदेश भित्र रहेका केही गाउँपालिकाहरुमा अझै पनि साँध सिमाना,बाटाे, फाेहाेर व्यवस्थापन लगायतका विषयमा झैझमेला भइरहेका समय गाेरखाका शहीदलखन र गण्डकी गाउँपालिका उदाहरणीय बनेका छन् ।
स्थानीय तहले विदेशमा रहेका निकायसँग भगिनी सम्बन्ध काम गर्दा सँघीय सरकारकाे अनुमति लिनुपर्दछ । देशभित्र भने आन्तरिक रुपमा देशभित्र एउटा पालिकाले गरेका राम्रा कामकाे अनुशरण अर्काे पालिकाले गर्न सँघ सरकारले प्राेत्साहन गर्दै आएकाे छ ।






