उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम सडकको तेस्रो खण्डको काम अन्तिम चरणमा पुगेको छ । मुस्ताङको काइको खोलादेखि कोवाङसम्मको १६ दशमलव ४ किमी ग्राभेलसहित अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिको भौतिक प्रगति ९२ प्रतिशत छ ।
सडक निर्माण अन्तिम चरणमा पुगेको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले जनाएको छ । ०७४ जेठ ३० गते बेनी जोमसोम ७६ किमी सडकको ४ वटै खण्डको एकैसाथ सम्झौता भएको थियो ।
जस अन्तर्गत शर्मा गजुरमुखीले म्याग्दी तातोपानीदेखि मुस्ताङको काइको खोलासम्म २३ किमी र काइको खोलादेखि कोवाङसम्मको १६ किमी सडक स्तरोन्नति गर्ने जिम्मा अलग अलग ठेक्का पाएको थियो ।
शर्मा गजुरमुखीले म्याग्दीको तातोपानीदेखि काइको खोलासम्मको भौतिक प्रगति ६० प्रतिशत हुँदा काइकोदेखि कोवाङसम्मको अस्फाल्ट कालोपत्र सडक स्तरोन्नति अन्तिम चरणमा पुर्याएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।
न्यौपानेले काइको–कोवाङ अन्तर्गत लेते खोला र सेतु खोलामा करिब १ सय ५० मिटर कालोपत्र र सडक रंगरोगन लगायत केही फिनिसिङका काम बाँकी रहेको जनाए । चालु आर्थिक वर्षको असार महिनाभित्रै बेनी जोमसोम तेस्रो खण्ड कालिगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको प्रोजेक्ट मेनेजर न्यौपानेले उल्लेख गरे ।
बेनी जोमसोम सडकको तेस्रो खण्डको अस्फाल्टसडकको ठेक्का ५४ करोड ३० लाख रहे पनि निर्माणाधीन सडकको ग्याबिन वाल र मेसिनरी स्टक्चर परिवर्तन हुँदा ८ करोड भिओ वृद्धि भएको आयोजनाका सबइन्जिनियर टीकाबहादुर थापाले जानकारी दिए ।






