गोरखा, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा माओवादीले बाबुराम भट्टराइलाइ उम्मेदवार नबनाउने बताएका छन् । २४ औं बासु स्मृतिसभामा सहभागी हुन आज गोरखा आइपुग्नु भएका उपाध्यक्ष श्रेष्ठले आज एक सार्वजनिक कार्यक्रममा बाेल्दै गोरखामा २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई माओवादीले टिकट दिने भन्ने कुरा भ्रम मात्र भएको बताए ।
‘नेपाल समाजवादी पार्टीका नेताहरु मै हो यहाँको उमेद्वार भन्दै घोषणा गरेकाले कतिपय अन्यौल पनि सृजना भएको पाएको छ, उनले भने, त्यस्तो होइन, बाबुराम जीको पार्टीले हाम्रो पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने भन्ने कुरा सत्य हो, तर कहाँ–कहाँबाट उहाँको पार्टीलाई चुनाव लड्न दिने भनेर निर्णय भएको छैन ।’उहाँले डा भट्टराईले पार्टी अध्यक्ष प्रचण्ड सहित आफुसंगको छलफलका क्रममा गोरखा २ दावी नगरेको समेत बताए ।
‘सर्लाही, नवलपरासी र काठमाण्डौ गरी ३ वटा क्षेत्रमा मात्र उहाँहरुले टिकट माग गर्नुभएको हो, उपाध्यक्ष श्रेष्ठले भने, ‘काठमाण्डौमा मानुसीको निम्ति एउटा सिट चाहिन्छ भनेर हाम्रो पार्टीलाई प्रस्ताव भएको छ, त्यस बाहेक नवलपरासी र सर्लाहीमा पनि उहाँहरुले टिकट दावी गर्नुभएको सत्य हो ।’बरिष्ठ उपाध्यक्ष श्रेष्ठले डा.भट्टराइले पहिला जस्तो मै चुनाव लड्नु पर्छ भन्ने कुरामा आंशका नगर्न पनि आफुहरुलाई आग्रह गरेका उनले बताए ।






