तनहुँ । तनहुँमा विगत तीन वर्षदेखि विश्व हिन्दु महासङ्घ शुक्लागण्डकी नगर समितिले पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ ।
समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामा समेत वृद्धि हुन थालेको छ ।
कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच वृद्धि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा अहिले ८ जना दलित समुदायका व्यक्तिसहित ३५ जनाले तालिम लिइरहेका छन् । तालिममा विभिन्न समुदायका ८ जना महिला समेत सहभागी छन् ।
तालिममा सहभागी जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको बताए । ‘समुदायमा बाहुन पुरोहितहरू नजाने, आफ्नै समुदायमा भएका केही पुरोहितहरू नभ्याउने समस्याले पूजाआजामा विधि नपुग्ने गरेको पाइयो ।’ उहाँले भन्नुभयो, ‘दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिइरहेको छु ।’ उहाँले समाजमा अन्य पुरोहित तयार पार्न चाहेको समेत बताए ।
सहभागी मध्येकी लक्ष्मी सिग्देललाई भने स–साना कार्यमा पुरोहित नै बोलाउनुपर्ने झन्झट मन पर्दैन । उहाँले आफैले सिप सिके परिवार र समाजमा सहज हुने विश्वास सहित तालिममा सहभागी भएको बताए ।
दुलेगौंडा स्थित शिवालयमा सञ्चालित तालिममा सहभागी भएकाहरू मध्ये अधिकांशलाई धर्मको जगेर्नाप्रति चासो छ । गैर दलित समुदायसँगै मिलेर तिजको व्रतमा समेत पूजा गर्न नपाएकी विष्णुमाया नेपाली तालिममा सहभागी मध्ये एक्लो दलित महिला हुनुहुन्छ । ‘आफ्नो समुदायको पण्डित नहुने अरूले नमिसाउने, भुड्के पूजा गर्ने रहरै रहरमा जीवन बित्न लाग्यो ।’ उनले विगत सुनाउँदै भने, ‘धर्मकर्म गर्न मन लाग्छ तर कोही पण्डित नपाउने कारणले आफै सिक्ने आएको छु ।’
समाजमा जातीय रुपमा हुने विभेद न्यूनीकरण गर्न समेत समेत तालिमले सहयोग गर्ने समितिका अध्यक्ष घिमिरेको विश्वास छ । उनका अनुसार सबै समुदायमा पुरोहित उत्पादन हुन सके परनिर्भरतामा कमी हुनुका साथै रोजगारी समेत सिर्जना हुने र विकृतिजन्य मानसिकता कम हुनेछ ।






