कास्की । रहस्यमा रहेको रत्न मन्दिर जेठ १५ गते अर्थात गणतन्त्र दिवसका अवसरमा नागरिकका लागि खुल्ने भएकाे छ । त्यसकै लागि अहिले अन्तिम तयारी चल्दैछ ।
रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।
गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्वमा छ ।
रत्न मन्दिर गणतन्त्र आएको १५ वर्ष पुग्न लाग्दासमेत अझै सर्वसाधारणका लागि खुला भएको थिएन । तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीदेखि हालसम्मका सबै मन्त्रीले मन्दिर खुला गर्ने बताउँदै आए पनि खुलेको थिएन ।
नेपाल ट्रस्ट पोखरा इकाई प्रमुख योङजोमले विभिन्न समयमा रत्न मन्दिर खोल्न चर्चा चले पनि अहिलेमात्रै सफल हुन सकिएको बताइन् । रत्न मन्दिर खुला गर्न पर्यटनमन्त्री सुदन किराती पोखरा आउनेछन् ।
‘१५ वर्षसम्म पूरै ढोका बन्द भएर बसेको थियो । अहिलेसम्म नेपाल ट्रस्ट इकाई कार्यालयका कर्मचारीहरु यहाँ आउने सरसफाइ गर्ने, गार्डेनिङ गर्ने, भित्रका भाडाकुँडा टल्काउने यतिमात्रै भएको थियो,’ योङजोमले भनिन्, ‘पटक–पटक खोल्ने भन्दाभन्दैका बाबजुद विभिन्न राजनीतिक कारणले खुल्न नसके पनि अब भने खुल्ने नै भएको छ ।’
रत्न मन्दिर नागरिकका लागि खुला भइकेपछि टिकटको व्यवस्था गरिने जानकारी योङजोमले दिइन् । ‘उद्घाटनको दिन निःशुल्क अवलोक गर्न पाइनेछ । तर, त्यसपछि निश्चित टिकट शुल्कको व्यवस्था हुनेछ,’ उनले भनिन्, ‘त्यसको कार्यविधिपछि शुल्क सार्वजनिक गरिनेछ ।’ मुख्य राजदरबारमा भने फोटो खिच्न नपाइने व्यवस्था ट्रस्टले गरेको छ ।






