गाेरखा । सदरमुकाम स्थित पुस्करतिर्थमा डुबेर एक बालकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका वडा नं ५ सिङलाका आठ वर्षीय मनिस गुरुङको मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
शुक्रबार साँझ पाँच बजे उनी सहित चार जना साथीहरु रानीपोखरीमा पौडी खेल्न गएका थिए । पोखरीबाट सबै साथीहरु बाहिर निस्किए पनि उनी बाहिर नआएपछि उनका साथीहरु चिच्याएर वरिपरि हारगुहार गरेका थिए ।
तत्कालै प्रहरी र स्थानीयहरुले उनलाई निकालेर गोरखा अस्पताल लगिएका थिए । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतक गुरुङ हाल गोरखा नगरपालिका वडा न. ६ ढाडगाउँमा मामासँग बस्दै आएका र पृथ्वीनारायण सामुदायिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।






