मुग्लिन । पहिराले मुग्लिन – नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएकाे छ । गएराती ११ बजेकाे पहिराेका कारण सडक अवरुद्ध भएकाे हाे । सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिडेका यात्रुहरु मर्कामा परेका छन् ।
बाटाे अवरुद्ध भएसँगै पश्चिम तर्फका सवारीहरु पाेखराकाे बाटाे र पूर्व तर्फ जाने सवारी साधनहरु विपि राजमार्ग र नाैविसे खण्डबाट बैकल्पिक बाटाे राेज्न थालेका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनका अनुसार पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको छ ।
सोही स्थानमा गत विहिबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने ठूला सवारी साधन र यात्रुहरु बढी मर्कामा परेका छन् ।






