गाेरखा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लीछ्याङ बीच भएको प्रतिनिधि मण्डल स्तरीय भेटबार्तापछि १२ बटा सम्झौता तथा समझदारी र एउटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।
सहिद लखन गा पा वडा नं ४ स्थित श्री सिंजाली माध्यमिक बिद्यालय परियोजना कार्यन्वयन गर्ने संझौता पनि भएको छ । सम्झाैताकाे ५ नम्बर बुँदामा सिञ्जाली उच्च विद्यालय परियाेजना कार्यन्वयन गर्ने उल्लेख छ ।
भूकम्पपछि जीर्ण भएकाे याे विद्यालय चीन सरकारले निर्माण गर्न गाउँपालिकासँग समन्वय गरेकाे थियाे । गाउँपालिका अध्यक्ष रमेशबाबु थापाकाे नेतृत्वमा चिनिया दुतावास पुगेकाे टाेलीले याेजना छिटाे गरी कार्यान्वयन गर्न सुझाव दिँदै आएकाे थियाे ।
यस अघि चीन सरकारले गण्डकी प्रदेशमा लमजुङकाे राइनासमा विद्यालय भवन निर्माण गरेकाे थियाे ।

यस्ता छन् १२ सम्झौताहरू :
(१) चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर ।
(२) नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवनयापन सामग्रीपत्र हस्तान्तरण ।
(३) चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्रमा सहयोग अभिवृद्धि गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।
(४) चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर ।
(५) सिजाली उच्च विद्यालय परियोजना कार्यान्वयन गर्ने सम्झौता ।
(६) चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।
(७) १९८१ मा चीनमा सम्पन्न वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको चीन–नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरावलोकन र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्ने समझदारीपत्रमा हस्ताक्षर ।
(८) चीनको भन्सार सामान्य प्रशासन र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा चिनियाँ औषधि उत्पादन गर्न चाहिने वनस्पति निर्यातका लागि आवश्यक परीक्षणसम्बन्धी प्रोटोकलमा हस्ताक्षर ।
(९) चीनको राष्ट्रिय प्रेस तथा प्रकाशन सम्बन्धी प्रशासन र नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच अनुवाद र प्रकाशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।
(१०) नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर ।
(११) प्रकोप सामग्रीसम्बन्धी समझदारीपत्र आदान–प्रदान
मानव संशाधन सम्बन्धी समझदारीपत्र आदान–प्रदान।
(१२) हिल्सा सिमकोट रोड परियोजना सम्बन्धी समझदारी पत्र आदानप्रदान।






