गाेरखामा प्लाष्टिकका फूलमाला प्रयाेग गर्न नपाइने

शुक्रबार, कार्तिक १७, २०८०
0
113

गोरखा । गोरखा जिल्ला भित्रका स्थानीय तहहरुले प्लास्टिकका फूलमालाहरुको प्रयोगमा निरुत्साहित गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति गोरखाको आयोजनामा   भएको अन्तर स्थानीय तह समन्वयात्मक बैठकले दिपावली तथा छठ पर्वका बेला अत्याधिक प्रयोग हुने प्लास्टिकका फूलमाला तथा पटका लगायतका सामग्रीको प्रयोगलाई सवै स्थानीय तहहरुमा निरुत्साहित गर्ने निर्णय भएको अजिरकाेट गाउँपालिका अध्यक्ष दिपक देवकाेटाले बताए ।

‘‘चाडबाडका बेला बाहिरबाट ल्याइएको प्लास्टिकका फूलमालाले बजार पाउन तर स्थानीय किसानहरुले उत्पादन गरेको सयपत्री तथा मखमली लगायतका फूलहरु खेर जाने अवस्था छ, उनले भने,‘‘त्यसलाई रोक्न र स्थानीय उत्पादनलाई न गर्नका लागि जिल्ला भित्रका स्थानीय तहहरुले यस्तो निर्णय गरेको हो ।’’ यसबाट स्थानीय कृषकहरुले उत्पादन गरेका फूलले बजार पाउने अध्यक्ष देवकाेटाकाे भनाई छ ।

बैठकले जिल्ला भित्रका सवै स्थानीय तहहरमा विकास निर्माणका क्रियाकलापहरु सञ्चालन गर्दा वातावरणमैत्री विकासप्रति संवेदनशिल भएर सञ्चालन गर्ने निर्णय पनि भएको गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले बताए  । सवै स्थानीय तहहरुले विकास निर्माण तथा आफ्नो स्थानीय तह स्तरीय वार्षिक बार्षिक कार्यक्रम सञ्चालन गर्दा दिगो विकासको लक्ष्यको राष्ट्रिय र प्रदेश लक्ष्यसंग तादम्यता हुनेगरी सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियारले जानकारी दिइन ।

राष्ट्रिय योजना आयोगले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनमा तोकेको ढाँचामा आ–आफ्ना स्थानीय तहको वस्तु स्थितिको विवरण (प्रोफाइल) तयार गर्ने, सवै स्थानीय तहहरु वीच पारस्पारिक सम्बन्ध अझै दिगो र मजवुत हुने गरी आपसी समन्वय र सहयोगका साथ दिगोपन मितव्यायिता र प्रभावकारिता कायम गर्ने प्रतिबद्धता गरेका समेत स्थानीय तहहरुले गरेको उनले बताइन ।

बैठकमा स्थानीय तहहरुले आफुले अहिलेसम्म गरेका असल अभ्यास एंवम नवप्रर्वद्धन लगायत अन्य उल्लेखनिय कार्यहरुको बारेमा एकअर्कामा अनुभव समेत साटासाट गर्ने अवसर प्राप्त गरेको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । जिल्ला भित्रको विकास निर्माणको कामलाई एक रुपता दिएर तिव्रताका साथ अघि बढाउन भूमिका खेल्ने जिल्ला समन्वय समिति गोरखाले समन्व्यात्मक बैठकको आयोजना गरेको हो ।

मित्रता माविमा विद्यार्थीहरुले लगाएकाे सयपत्री फूल ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here