खानमात्रै जानेका पाचन गर्न नजानेका मानिस

सोमवार, मंसिर ४, २०८०
0
129

डा.राजु अधिकारी

‘मान्छे जेजति खान्छ, त्यसको एक तिहाई पनि पचाउन सक्दैन। पचाउने दबाइ खोज्दैखोज्दै मकहाँ आइपुग्छ। दबाइ लिँदालिँदा एकदिन दिक्क हुन्छ र समयअगावै मृत्युको काखमा पुगी मिठो निद्रा निदाउँछ।’-डा हर्न (अस्ट्रेलिया)

आयुर्वेदमा एउटा निकै रोचक प्रसङ्ग आउँछ: सुँगुर, अजिङ्गर, गोही, सिंहजस्ता अति खन्चुवा प्राणी त्यस्ता हुन्छन्, जो एकै पटक हल्लिनसमेत नसक्ने गरी पेटमा खुराक ठोस्दछन्। ततपश्चात लामो समयसम्म आलस्यग्रस्त, निद्राग्रस्त र निःचेष्ट भई पल्टिरहन्छन्। यसरी पल्टिरहनु पर्ने बाध्यता तिनको अतिभोजन र भोजन पचाउने अक्षमताको परिणाम हो। त्यस्ता खन्चुवा जनावरको शरीरको स्फूर्ति जवानी अगावै नष्ट भएरजान्छ। साथै यी जन्तुहरू कहिल्यै पनि दीर्घजीवी हुन सक्दैनन। आजको मानिसको अवस्था ती महाखन्चुवा जन्तुको भन्दा पनि बिग्रँदो छ। भाँतिभाँतिका खानेपिउने तरिका र बाहनाहरू विकसित भएका छन्। आजका मानिसलाई खानेपिउने सोख कसैबाट सिक्नै पर्दैन, सबका सब भइँफुट्टा छौं। मनुष्यलाई सबथोक खान आउँछ, तर बिडम्बना त्यत्तिको तरिका पुयाएर खानपिउन जान्ने यो मान्छेको जातलाई आफैँले खाएको कसरी पचाउने भन्ने ज्ञानचाहिँ थोरै मात्र छ।

खाएको पचाउन नजानेर त होला, हाम्रो जस्तो पहाडी मुलुक, जहाँका बासिन्दाहरू स्वभावले श्रमशील र मिहिनेती मानिन्छन्। तर आज गाउँगाउँसम्म चिनीरोग, मुटुको व्यथा, पेटको अल्सर, दमरोग, जोर्नी दुख्नेजस्ता रोगहरू भित्रिएका छन्। जहाँ यस्ता रोगहरू उब्जने कल्पनासम्म गर्न सकिँदैनथ्यो, त्यस्ता ठाउँका घरघरमा आज अनेकथरी बिमारीहरू फैलिएका छन्। यस परिप्रेक्ष्यमा अझै पनि भित्री आँखा खोली खानेपिउनेकलाको ज्ञान नबढाउने हो भने अवस्था अझ चुनौतीपूर्ण हुँदै जानेछ।
खाना पचाउने हो भने अवश्य गर्नुहोस्
• शारीरिक श्रम उचित विश्राम
• योगव्यायाम
• प्राकृतिक नियमको पालना
• प्राणशक्तिको अभिवर्धन
• मानसिक शान्ति
• खानेपिउने कलाको ज्ञान

शारीरिक श्रम
शरीरलाई जति सुविधाभोगी बनायो यसको क्षमता त्यति त्यति ह्रास भएर जान्छ। विनाशारीरिक श्रम पेट र शरीरको यथोचित व्यायाम कहिल्यै हुँदैन। व्यस्तताको नाममा आज हामी शरीर र पेट दुवैमाथि अत्याचार गरिरहेका छौं जबकि आफ्नो काम आफै गर्ने सिद्धान्तअनुसार हलुका शारीरिक परिश्रम गर्दा न कोही सानो हुन्छ, न तअव्यावहारिक नै। बरू यसो नगर्दा चाही खाएको खानेकुरा पोषण, आयु र तागतको साटो रोग, शोक र दुःखको कारण बन्न पुग्दछ। तसर्थ, श्रमशील बनौं। कम्तीमा एकाध घण्टा नियमितरूपले शारीरिक श्रम गरौं। होइन भने आचार्य श्रीराम शर्माले भने जस्तो मधुमेह र मोटोपनको रोगी हुनबाट कसैले बचाउन सक्दैन। उहाँ भन्नुहुन्छ, ‘मधुमेह तथा मोटोपन अकर्मण्यता र कामचोर प्रवृत्तिको तीतो प्रतिफल हो।’
उचित विश्राम
लुई कार्नारो भन्नुहुन्छ, जब शरीर अस्वस्थ हुन्छ, उसलाई आराम चाहिन्छ, भोजन या औषधि होइन। खाएको खानेकुराको वास्तविक पाचन कार्य विश्रामका बेलामा हुन्छ। त्यही कारण हो – रातिको खानापछि सुत्नुपर्ने आवश्यकता परेको। त्यस्तै, बिहानको खानापछाडि पनि शरीरले केही बेरको आराम खोजेको हुन्छ। जब शरीरले आराम गर्दछ, शरीरको आन्तरिक ऊर्जामा बचत भई पचाउने काममा केन्द्रित हुन पाउँछ, तर खाने बित्तिकै हिँड्ने, दौडने, काममा लागिहाल्ने गर्नाले आरामको अभावमा पाचन कार्य पनि सुव्यवस्थित हुन पाउँदैन। त्यसैले सकेसम्म बिहानको खाना पछाडि ५-१० मिनेट वज्रासनमा बस्ने या दाँयातिर कोल्टो परेर पल्टिने र त्यसपछि मात्र कामकाजमा लाग्ने सल्लाह आयुर्वेदमा उल्लेख छ।
योग-व्यायाम
आजको व्यस्ततम जीवनशैलीमा योग व्यायामका लागि केही मिनेट निकाल्न नसक्दा मान्छेभित्र थरीथरीका रोगव्याधि बढिरहेका दृश्य कसैका लागि नौलो होइन, तरएकथरी त्यस्तो जमात पनि जसले बिहान सबेरै उठ्ने र केही समय योग-व्यायाम,मर्निङ वाक गर्दा पनि दुसाध्य मानिने रोगहरू समेत निको भएर गएका छन्। हाम्रो शास्त्रले योगविद्यालाई सम्पूर्ण भवतापरूपी रोगव्याधिहरूको निर्विकल्प उपचार भनेको छ। जे होस् शारीरिक श्रम र मिहिनेतलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति बढ्दै गएको आजको समयमा यदि तपाईं योगव्यायाम, खेलकुद, या दौडजस्ता अभ्यास गर्नुहुन्न भने खाएको आहार नपच्ने मात्र होइन, एक दिन तपाईंको भोक नै गायब हुने स्थिति पनि आउन सक्छ। अतः जम्मा २४ घण्टाको दिनमा आफ्ना लागि कमसेकम ३० मिनेट निकालेर योगव्यायाम गर्न अति आवश्यक छ।
प्राकृतिक नियमको पालना
हामी जतिजति प्रकृतिको अवज्ञा गर्छौं, प्राकृतिक नियमलाई भङ्ग गछौ, त्यति प्राणहीन र रोगग्रस्त हुँदै जान्छौं। प्रकृतिमा जसरी सूर्य, चन्द्र, ग्रहउपग्रह, हावापानी, वृक्षवनस्पतिको एक क्रमबद्ध अन्तर्सम्बन्ध हुन्छ, त्यसैगरी हाम्रो शरीरभित्रका सबै आन्तरिक गतिविधिहरूको बीचमा पनि एउटा गहन अन्तर्सम्बन्ध हुन्छ। जो व्यक्ति बाहिरी प्रकृतिको नियम र अनुशासन उल्लङ्घन गर्दछ, त्यस कुकर्मको प्रतिफल उसले सर्वप्रथम पेट र पाचनप्रणालीको क्षतिको रूपमा बेहोर्नुपर्दछ किनकि बाहिरी प्रकृतिको केन्द्रमा सूर्य भएझैं शरीरको भित्री प्रकृतिको केन्द्रमा पनि पेटको नाभी छेउमा सूर्य चक्रअर्थात् मणिपूर चक्र अवस्थित छ। पेटमा हुने पाचन, अवशोषण, निष्कासनजस्ता कार्यमा नियन्त्रण राख्ने यही चक्र हो। योग विज्ञानको मतानुसार जसले अप्राकृतिक आहार गर्दछ, सुने बेलामा जाग्ने र जाग्ने बेलामा सुत्ने गर्दछ, कृत्रिम वस्तुहरू तथा मेसिनको प्रयोग बढी गर्दछ, त्यस्तो व्यक्तिको पचाउने शक्ति कमजोर हुँदै जान्छ। त्यसैले, व्यवस्थित पाचन प्रक्रिया, स्वाभाविक भोक र सन्तुलित स्वास्थ्य चाहने हो भने प्रकृतिसँग नजिकिने गरौं। महात्मा गान्धी भन्नुहुन्छ,- ‘जसलाई प्रकृतिको हावापानी र अन्नको परिणामको ज्ञान प्राप्त हुन्छ, त्यसलाई आफ्नो शरीर स्वस्थ राख्न डक्टरको सहयोग कहिल्यै चाहिँदैन।’
प्राणशक्तिको अभिवर्धन
जसको प्राणशक्ति क्षीण र अधोगामी हुँदै जान्छ, उसको शरीरका सबैप्रकारका क्रियापद्धति सुस्त र शिथिल हुन थाल्दछन्। योग विज्ञानको मान्यताअनुसार प्रत्येक सूक्ष्म गतिविधि सञ्चालित गर्ने ऊर्जा शरीरको प्राणशक्ति नै हो। भनिएको छ, प्राणोवै ब्रह्मः। अर्थात्, प्राण नै ब्रह्म हो। आहारको गुणस्तर, पोषण तत्त्व र खानेकुराको परिकारभन्दा प्राणशक्तिको महत्व बढी हुन्छ। भनिन्छ, पोषक तत्त्वहरू खाद्यवस्तुमा होइन, प्राणशक्तिमा निहित हुन्छन् किनकि स्तरीय र पोषिलो खानेकुरा खाए पनि पेटले राम्रोसँग पचाएन, ग्रहण गरेन भने त्यसमा भएको पोषण तत्त्वको केही अर्थ रहन्न। ३-४ जना सन्तानकी एउटी आमा सबै छोराछोरीलाई एउटै खाना उत्तिकै मायाले दिन्छिन्, तर तीमध्ये एउटा बलियो र स्वस्थ देखिन्छ तर अर्को दुब्लो र कमजोर। यस दृष्टिले हेर्ने हो भने ज्ञात हुन्छकि खानेकुराको गुणवत्ता सँगसँगै त्यसलाई पचाएर शक्तिमा रूपान्तरित गर्ने प्राणशक्तिको अभिवर्धन गर्नतर्फ सचेत हुनु पनि नितान्त जरुरी छ।
स्मरण रहोस्, यस्तो अमूल्य प्राणशक्तिलाई अभिवर्धन गर्ने विभिन्न तरिकाहरू छन् ती मध्ये नियमित प्राणायाम, उपवास, धेरै कामुक नहुने, मानसिक संयम गर्ने, पर्याप्त आराम र निद्राको सेवन गर्ने, अति यौनक्रिया नगर्ने, रिसमाथि नियन्त्रण गर्ने, ध्यान एवम् मन्त्र जप गर्ने, सत्साहित्यको अध्ययन गर्ने, असल मानिसको सङ्गत गर्ने इत्यादि प्रक्रियाहरू महत्त्वपूर्ण छन्।
मानसिक शान्ति
अपच, कब्ज, अम्लपित्त लगायत पेटका रोगहरू हुने विभिन्न कारणमध्ये मानसिक अशान्ति एउटा प्रमुख कारण हो। तनाव पेटको पाचन प्रणालीलाई बिगार्ने सबभन्दा घातक कारण हो। आज त्यस्ता हजारौं वैज्ञानिक अनुसन्धानहरू भेटिन्छन्, जसमा तनावजन्य विकारले मानवीय पेटको कतिसम्म क्षति पुयाउँछ र कति पीडादायी अल्सर, पाइल्स, कोलाइटिस, क्यान्सर, कोलोन क्यान्सरसम्मको शिकार बनाउन सक्छ भन्ने देखाइएका छन्। तसर्थ, के हृदयङ्गम गर्न जरूरी छ भने खानेकुराको स्वतस्फूर्त पाचनक्रियाको चाहना राख्नेहरूले चौतर्फी प्रयासद्वारा मानसिक शान्ति र मानसिक एकाग्रता बढाउने अभ्यास नियमित रूपमा गर्नुपर्दछ। यस उपक्रममा ध्यान, मन्त्र जप, आत्मचिन्तन, सत्सङ्ग, स्वाध्याय, मौनव्रत, आध्यात्मिक साधना सेवा-परोपकार, लोकहितजन्य कार्य, दानपुण्य, व्रतउपवास, भक्तियोग, प्रेमयोग साधना, प्राकृतिक अनुशासनको पालना, योग प्राणायाम, श्रम र इमानको कमाई खाने प्रवृत्ति, घुमफिर, पर्यटन, पारिवारिक भावनाको विकास, कर्तव्यपरायणता, कर्मयोग, ज्ञानी महात्माहरूको सङ्गत, स्वदेश प्रेम, बाबुआमाको सेवा, स्वस्थ सङ्गीतको श्रवण, सत्साहित्यको अध्ययन, ललितकलाको अभ्यास, धनपैसाको सदुपयोग, असल आचरण, झुठो नबोल्ने, अहिंसाको भावना इत्यादिको प्रयोग गर्न सकिन्छ।

खानेपिउने कलाको ज्ञान
गजबको कुरा, ठूलाठूला मान्छे र विद्वान पुरूषहरू पनि खानपान विषयक ज्ञानमा प्रायः अनभिज्ञ हुन्छन्। भनिन्छ, जबसम्म व्यक्तिलाई के खान हुन्छ र के खान हुँदैन? भन्ने विषयमा ज्ञान हुँदैन, तबसम्म न कोही विद्वान्, न कोही ज्ञनी र न त कोही महान् बन्न सक्दछ। विपरीत प्रकृतिका खानेकुराहरू एकसाथ मिसाएर खाने, मौसम र ऋतुविपरीत खाने, शरीरको प्रकृति या त्रिदोषको विपरीत खाद्यवस्तु खाने, धेरै परिकार एकसाथ खाने, ठाउँ अनुसार नखाने, श्रम र इमानविपरीतको अन्न खाने आदि गल्तीहरू दोहोरिनुको मुख्य कारण खानेपिउने कलाको वास्तविक ज्ञान नहुनु नै हो। तसर्थ, पेट, शरीर र पाचन प्रक्रिया तन्दुरुस्त राख्ने इच्छार्थीहरूले खानपानसम्बन्धी तथ्यपरक जानकारी राख्नै पर्दछ। कहिल्यै नबिर्सौ : आहारले जीवन दिने मात्र होइन, जीवन लिने पनि गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here