काठका सामग्री बनाएर गाउँमै स्वरोजगार

शुक्रबार, चैत्र १६, २०८०
अजिरकाेटका निर्माण भएका काठका सामग्री

राजेन्द्र न्यौपाने
अजिरकोट गाउँपालिका वडा नम्बर ३ काफलडाँडाका दिपक विश्वकर्मा शान्ति प्रक्रिया पछि अभियान साँस्कृतिक परिवारमा गीत गाउने, सारङ्गी बजाउने काम गरे । तीन वर्ष सम्म कलाकारिता क्षेत्रमा सक्रिए रहेपछि आफ्नो घर परिवार सम्हाल्ने जिम्मा दिपकलाई आयो । सँगै रहेका साथिहरु कोही विदेश गए कोही घर गाउँमै रहे । त्यसै मध्येका दिपक विश्वकर्मा गाउँमै केही गरौँ भनेर आफ्नै लगानीमा काठबाट बनेका सामग्रीहरु बनाउन तिर लागे ।

स्थानीय स्तरमा पाइने दार प्रजातिका काठको प्रयोग गरेर दिपकले पुङ,पुचे, नापे, गरियो, सिमङ, चौथी, गबुवा, मादल, डमरु, खैचडी, सारङ्गी, साना ठूला ठेकी, थाल, कचौरा, एस्ट्रे लगायतका सामग्री बनाउन थाले ।

दिपकको श्रम प्रतिको लगाव देखेर पहिलो पटक निर्वाचित स्थानीय सरकारले अनुदानमा मोटर उपलब्ध गरायो । मोटर पाएसँगै खोलामा गएर पानीको सहयोगमा काठका फ्रेम बनाउनुपर्ने बाध्यता हट्यो ।

सुरुमा एक लाख लगानी गरेर सामग्री जोडेको दिपकको व्यावसाय अहिले बढेको छ । दिपकले बनाएका सामग्री लिनका लागि अजिरकोटर, सिरानचोक, बारपाक सुलिकोट, दुधपोखरी गाउँपालिका क्षेत्रका नागरिकहरु दिनहुँ आउने गर्दछन् ।

यहाँ आउने जो कोही पनि एउटा भनेपनि समान लिएर फर्कन्छन् । यो पेशाले उहाँको छोराछोरीको शिक्षामा सहयोग पुगेको छ । फुर्सदको समयमा श्रीमती काममा सघाउने गरेको र गाउँमै उत्पादनमूलक काम गर्न पाउँदा आफू खुशी रहेको दिपकको भनाइ छ ।

दारबाट बनेका ठेकी प्रतिमाना पाँचसय रुपैयाँमा विक्री भइरहेको छ । सिजन अनुसार मादल, डमरु, खैचडी विक्री हुने गर्दछ । अजिरकोट गाउँपालिकामा उत्पादन भएको बस्तु पर्यटकहरुलाई मायाको चिनोको रुपमा लैजान एउटा कोशेली घरको आवश्यकता भएपनि स्थानीय सरकारको ध्यान नपुगेको दिपकको भनाइ छ ।

अजिरकोट गाउँपालिकामा युवाहरुले गरेको उत्पादनमूलक व्यावसाय प्रवद्र्धन गर्न पालिका लागि परिरहेको गाउँपालिका अध्यक्ष दिपक देवकोटाको भनाइ छ ।

काम गर्ने क्रममा दारका काठ सजिलै नपाइने पाइ हाले पनि धोद्रा हुने गरेर कहिले काँही लगानी घाटामा पर्ने गरेको उत्पादनमा सँलग्न दिपकको गुनासो छ । सामग्री बनाउन सकिने अवस्थामा रहेका काठ सजिलै उपलब्ध गराउन पालिकाले पहल गरिदिए आफ्नो उत्पादन थप बढ्ने दिपकले बताए ।