प्रधानमन्त्री र महिला भलिबल खेलाडीबिच संवाद, कभर्डहल हामी बनाउँछौँ : प्रधानमन्त्री ओली

सोमवार, भदौ ३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा बन्धनको आजको बिहानीका करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग व्यतीत गर्नुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान करुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराउनुभएको थियो भने खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए ।

उहाँले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल बनाउने सङ्कल्प गर्नुभयो । “तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नै पर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस् ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यस कारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफू सँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको छ भन्नुभयो ।