गाेरखा । जिल्लास्तरीय मेयर कप कराते प्रतियोगितामा गाेरखा नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियाेगितामा शहिदलखन गाउँपालिका द्धितिय र धार्चे गाउँपालिका तृतीय भएका छन् ।
खेलमा गाेरखाका २ नगरपालिका र ८ वटा गाउँपालिका सहभागि थिए । नेपाल कराँते महासंघ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सबैभन्दा धेरै गोरखा नगरपालिकाले सात स्वर्ण, ६ रजत र १० वटा कास्यपदक जितेको छ ।
शहिदलखन गाउँपालिका तीन स्वर्ण, दुई रजत पदक जित्न सफल भएको छ भने धार्चे गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र ६ कास्य जितेको महासंघ गोरखाका कोषाध्यक्ष बुद्ध लामाले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिकाले एक स्वर्ण र एक रजत पदक जितेको छ ।
प्रतियोगितामा भिमसेन थापा गाउँपालिकाले एक रजत र दुई कास्य जितेको छ भने पालुङटार नगरपालिकाले एक रजत र एक कास्य जितेको छ । कुमुते फाइट र काता दुवैतर्फ गरी उनीहरुले उक्त पदक जितेका हुन् । पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार समेत विरतण गरिएको थियाे ।
स्वर्ण जित्नेलाई जनही १५ सय, रजत जित्नेलाई एक हजार र कास्य जित्नेलाई पाँच सयका दरले नगद पुरस्कार वितरण गरिएको महासंघले जनाएको छ । कराँते महासंघ गोरखाका अध्यक्ष रामबहादुर थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हाे ।
उत्कृष्ट खेलाडीमा केटा तर्फ सुजन गुरूङ, केटी तर्फ सृष्टी श्रेष्ठ र उदयमान खेलाडीमा हरी बाेहरा, प्रिसा श्रेष्ठ घाेषणा भएका छन् ।