माघ १८ गते पेस भएका ६ मध्ये ५ अध्यादेशलाई आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो।
अध्यादेश संसद् बैठकको कार्यसूचीमा दोस्रोपटक राखिएको हो। यसअघि माघ २४ गते पनि कार्यसूचीमा राखेर स्थगित भएको थियो।
संसद्मा पेस भएका ६ अध्यादेशमध्ये पाँच वटा मात्रै निर्णयार्थ पेस हुनेछ। यसका लागि दलहरूले सहमति गरिसकेका छन्। दलहरूले सहमति गरेपछि मँगलबारकाे कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा समावेश गरेका हुन्।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धि अध्यादेश फिर्ता नलिए अन्य पाँचवटामा पनि समर्थन नगर्ने अडान लिएका थिए।
अन्तत:उनीहरूको मागअनुसार नै सरकारले भूमिबाहेकका अध्यादेश सदनमा पेस गर्न लागेको हो।
यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१







