कांग्रेसको विशेष महाधिवेशन गर्न गण्डकीका ५ क्षेत्रीय सभापतिको माग

बुधबार, असाेज ८, २०८२
0
101

पोखरा । नेपाली कांग्रेस गण्डकीका क्षेत्रीय सभापतिहरूले पार्टीको केन्द्रीय विशेष महाधिवेशन माग गरेका छन् ।

मंगलबार पोखरामा बसेको सभापतिहरूको बैठकले तत्काल महाधिवेशनको मिति घोषणा गरी गतिविधि अघि बढाउन माग गरेको हो ।

‘अन्योलको समयमा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक तत्काल डाक्न आग्रह गरिएको छ । उक्त बैठकले विशेष महाधिवेशनको मिति तय गरेर कार्यक्रम अघि बढाउनुपर्छ,’ कास्की १ का सभापति राजेन्द्रमणी लामिछानेले भने ।

बैठकमा प्रदेशभरिबाट ५ जना मात्रै सभापति सहभागी थिए । १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा ५ वटा जिल्लामा क्षेत्रीय समिति छैन ।

बाँकी १३ सभापति मध्ये अधिकांशले कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको बताएका लामिछानेको भनाई छ । ‘सबैले आउँछु भन्नुभएको थियो । नवलपुरबाट बाटो बन्द भएर साथीहरू आउन सक्नुभएन । गोरखाका सभापति ज्यूहरू पारिवारिक कामले आउनुभएन,’ उनी भन्छन्, ‘स्याङ्जाबाट पनि आउँछु भन्नुभएको थियो, अन्तिममा आउनुभएन ।’

राजेन्द्रमणी लामिछाने, क्षेत्र नम्बर २ का सभापति केशर निर्दोषी, तनहुँ १ का सभापति श्यामकुमार मौरती, २ का सभापति चुडामणी खनाल र बागलुङ २ का सभापति जोकलाल बुढा उपस्थित थिए ।

कास्की ३ का सभापति मनोज गुरुङ भने बैठकमा उपस्थित भएनन् । ‘फोन आएको थियो । मैले हिजै भनेको थिएँ । यसैपनि महाधिवेशन हुँदै छ । अहिले किन विशेष चाहियो ?,’ उनले भने, ‘अधिवेशनको समय पनि हुँदै छ । बरु केन्द्रले गर्ने निर्णय स्वीकारेर अगाडि बढौँला भनेको छु ।’ देश अप्ठ्यारोमा परेको बेला पार्टी एकताबद्ध हुनुपर्ने उनले बताए ।

‘देश खरानी भएको छ । डढेलो लागेको छ । पार्टी एक भएर अघि बढ्नुपर्ने बेलामा जात्रा देखाउने काम गर्नु हुँदैन,’ अघि थपे, ‘यो राम्रो कुरा होइन । जिल्ला र क्षेत्रले गरेको निर्णयले केन्द्रमा कुनै असर पर्दैन । जिल्लामा छलफल नै नभएको विषय निर्णय गरेको भनेर हल्ला गरिएछ ।’ केही दिनअघि कास्की जिल्ला समितिले पनि विशेष महाधिवेशन माग गर्ने निर्णय गरेको थियो । तर उक्त बैठकले निर्णय नगरी होहल्ला मात्रै गरिएको एकाथरीको आरोप छ ।

केही क्षेत्रीय सभापतिहरूले केन्द्रीय सभापति अस्पतालमै भएको अवस्थामा विशेष महाधिवेशनको कुरा उठाउनु उचित नहुने तर्क गरिरहेका छन् ।

त्यसअघि कास्की क्षेत्र नम्बर १ को छुट्टै बैठकले पनि केन्द्रीय विशेष महाधिवेशन माग गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here