असार १७ गाेरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको एकै वडाको चार वटा बस्ति बाढी, पहिरोले उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै आएको बाढी, पहिरोको कारण गाउँपालिकाको वडा नम्बर ३ मा मात्रै चार वटा वस्ती फिलिम, दोयल गाउँ, सल्लेरी, जगत उच्च जोखिममा परेको छ। असार १ गते बुढीगण्डकी नदीमा आएको बाढीले सल्लेरी, जगत क्षेत्रका बस्ति कटान गरेपछि स्थानीयबासी घरवार बिहिन बनेका छन् । सल्लेरीबासीहरु फेरि कतिबेला बाढी आउने हो भन्ने त्रासमा बस्न बाध्य भएका छन् ।
चुमनुब्री गाउँपालिका बस्ति बाढी पहिरोको उच्च जोखिममा परेको सूचना प्राप्त गर्नसाथ प्रतिनिधिसभका सांसद हरिराज अधिकारी बाढी पहिरोले बढी क्षति पुगेको क्षेत्रको अध्ययनका लागि राष्ट्रिय विपद् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणका इन्जिनियर र खानी तथा भूगर्भ बिभागका बिज्ञ सहितको टोली लिएर उक्त क्षेत्रमा पुगेका छन् ।
सांसद अधिकारीसंगै बिपत प्राधिकरणका भुगर्भ इन्जिनियर सुशील श्रेष्ठ, खानी तथा भूगर्भ बिभागका भूगर्भबिद् डा. सूचिता श्रेष्ठ, सुलभ कायस्थ र पत्रकार सागर पन्तको टोली ३ दिनसम्म चुमनुव्रीमा बसेर जोखिमपूर्ण बस्तीको अध्ययन गरि फर्किएको छ ।
असार १३ गते पहिलो दिन पालिकाको वडा नम्बर ३ फिलिमस्थित दोयल गाउँ क्षेत्रमा पहिरोले बस्तिनै बगाउने जोखिम भए पछि टोलि उक्त क्षेत्रमा अध्ययनको लागि पुग्यो। टोलीले तीन दिनसम्म फिलिम, दोयल गाउँ, सल्लेरी, जगत, जगतबगर लगायतका स्थानका जोखिमपुर्ण बस्तीको अध्ययन तथा अनुगमन गरेकाे थियाे ।

असार १३ गते उक्त क्षेत्रमा पुगेको टोलीले ३ दिनसम्म त्यहाँ रहेर जोखिमपूर्ण बस्तिको अध्ययन तथा अनुगमन गरेको सांसद अधिकारीले बताए। ‘भूकम्पले बढी हल्लाएको र धाँजा पारेका स्थान अहिले पनि पहिरोको जोखिममा छन्,’ उनले भने ‘अहिले त बुढीगण्डकी नदीमा आएको बाढीले बस्तिनै कटान गरेपछि जनता उच्च जोखिम मोलेर बस्न बाध्य बनेका छन्। उक्त क्षेत्रमा बस्ति बस्न के हुन्छ भन्ने बिषयमा अध्ययन गर्न मैले बिज्ञ सहितको टोली ल्याएर छलफल गरेको छु। बिज्ञ टोलीले दिने सुझावको आधारमा बस्ती स्थानान्तरण गर्ने वा के गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिन्छौ।’
जोखिममा रहेका बस्तीका जनतासंग सांसद अधिकारीले निरन्तर छलफल गर्दै उनीहरुको समस्याको बारेमा जानकारी लिदै आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तपाइँहरुको दुस्खमा म साथमै छु,’ उनले भने,‘ हामि सम्पूर्ण रुपले लाग्नुपर्छ तपाइँहरुलाई मेरो पूर्ण साथ र सहयोग रहन्छ। विपदको बेला हामी सयुक्त रुपमा लड्नुको विकल्प छैन।’
समयमानै अध्ययन गरी जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक बर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति व्यर्होनु परेको अधिकारीकाे भनाइ छ । ‘उत्तरी गोरखा भौगोलिक हिसावले बिकट छ, २०७२ गोरखा भुकम्पले चिराचिरा बनाएका पहाडहरु खस्ने, पहिरो जाने क्रम रोकिएका छैन’, सांसद अधिकारीले भने, ‘जोखिमपूर्ण बस्तिको बेलैमा अध्ययन गरी नागरिकहरुको जनधनको रक्षा गर्नु पहिलो आबश्यकता हो ।’
उक्त क्षेत्रका कतिपय स्थानमा बाहिर ठीकठाकजस्तो जमिन देखिए पनि भित्री भाग कमजोर रहेको भूगर्भबिद् डा. सूचिता श्रेष्ठले जानकारी दिइन। ‘बस्ति पहिरोको जोखिममा रहेको दिखियो तर बस्ति स्थानान्तरण गर्ने पर्ने वा नपर्ने बिषयमा सम्पूर्ण अध्ययन पछि मात्र भन्न सकिन्छ’, उनले भनिन । ‘सम्पूर्ण डाटा हेरेर हामी निष्कर्षमा पुग्छौ।’
राष्ट्रिय विपद् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणका इन्जिनियर सुशील श्रेष्ठले बस्ति जोखिममा रहेकाले त्यसलाई कम गर्न छिटै निर्णय लिनुपर्नेमा जोड दिए। ‘केहि बस्ति जोखिममै रहेको देखियो’, उनले भने, हामी विस्तृत अध्ययनमै छौ। सम्पूर्ण रोपोर्ट आएपछि के गर्ने भन्ने बारे प्राधिकरणले निर्णय लिन्छ।’ प्राधिकरणले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहनेलाई घर बनाउन र जग्गा खरिद गर्न आर्थिक सहयाेग गर्ने समेत उनले जानकारी दिए ।
बुढीगण्डकी नदीमा आएको बाढीले बस्तिनै कटान गरेपछि सल्लेरी र जगतवासी पानि परेपछि राति जागै बस्छन्। असार १ पछि रातमा काेही पनि नसुतेकाे गाउँलेहरुकाे भनाइ छ । उक्त बाढीले सल्लेरीका ६ घर बगायो भने २० घर बिस्थापित हुन पुग्यो। अहिले सल्लेरी गाउँ पुरै जोखिममा रहेको वडा नम्बर ३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए । सल्लेरीमा रहेको नेपाली सेनाको क्याप समेत विस्थापित भएको छ। जगतका २२ घर समेत बुढीगण्डकी नदी कटानको जोखिमामा परेको पालिका अध्यक्ष धन बहादुर गुरुङले बताए ।
आफ्नो जिवनकालमा बुढीगण्डकी कहिलै यस्तो नदेखेको स्थानिय ६४ वर्षीय लक्ष्मण घलेले बताए । ‘मेरो जीवनकालमा गण्डकी यस्तो अवस्थामा देखेको थिइन’, उनले भने, ‘पानी पर्यो भने रातभर सुत्न सकिदैन। गण्डकी हेरेर बस्नुपर्ने बाध्यता छ। यस्तो भएको भए हामी यहाँ बस्दैनथ्यौ होला।’






