निर्वाचन आयाेगले ७७ जिल्लामा कन्सर्ट कार्यक्रम राख्ने

शुक्रबार, साउन २७, २०७९
0
236

 साउन २६, काठमाडौं । समाचारको शीर्षक पढ्नेबित्तिकै तपाईंलाई लाग्नसक्छ–चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले किन कन्सर्ट गर्न लाग्यो होला ? हो, आयोगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनभन्दा अगाडि भ्याएसम्म देशका ७७ वटै जिल्लामा सांगीतिक कन्सर्ट गर्ने योजना बनाएको छ ।

सामान्यतयाः कलाकारहरुको समूहले बाजागाजासहित दर्शकहरुलाई मनोरञ्जन दिन कन्सर्ट गर्ने गरिन्छ । बाजा बजाएर, गाएर र नाचेर गरिने सांगीतिक माहोलबाट दर्शकले मनोरञ्जन पाउँछन् । तर निर्वाचन आयोगले भने मतदाता शिक्षा दिनका लागि यस्तो कन्सर्टको आयोजना गर्न लागेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन सचेतना र मतदाता शिक्षाका लागि सांगीतिक टोलीसहित कन्सर्ट गर्न लागेको जानकारी दिए । निर्वाचन शिक्षाका लागि छापा, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालका साथै सांगीतिक कन्सर्ट गर्ने योजना रहेको उनले बताए ।

यसका लागि आयोगले योग्य सांगीतिक टोलीको छनौट गर्ने प्रक्रिया थाल्नेछ । उनीहरुलाई तालिम दिएर देशको विभिन्न जिल्लामा कन्सर्ट गर्न पठाउनेछ । उनले भने, ‘राम्रो र योग्य सांगीतिक टोली बनाएर वा कुनै त्यस्तो टोलीलाई जिम्मा दिने योजना छ । एउटा टोली देशको पूर्वतिर जान्छ । बाह्र पन्ध्रवटा खास खास जिल्लामा गएर ठूला ठूला कन्र्सटहरु गरेर त्यहाँ निर्वाचनको विषयवस्तु मिसाएर सांगीतिक माहौल सिर्जना गर्दै निर्वाचनमा सबैको सहभागिता अभिवृद्धि गर्न, सुशिक्षित गर्नका लागि एउटा वातावरण निर्माणको काम हुन्छ । अर्को टोली मध्य क्षेत्रतिर जान्छ, त्यस्तै अर्को टोली सुदूरपश्चिमतिर जाला । जिम्मेवारी पाए अनुसार सांगीतिक टोलीले तोकिएको क्षेत्रमा गएर काम सम्पन्न गरेर त्यसको रिपोर्ट हामीलाई दिनुहुन्छ । हामीले त्यसको अनुगमन पनि गर्छौँ । निर्वाचनको असल वातावरण निर्माण गर्नका लागि, मतदातालाई सुसूचित गर्नका लागि जनसहभागिता अभिवृद्धिमा जोड दिनका लागि यो कार्यक्रम गर्न लागिएको हो ।’

सम्भवतः दशैँपछिबाट जिल्ला–जिल्लामा यस्तो कन्सर्ट आयोजना गर्ने आयोगको योजना छ । यसका लागि पेशेवर कलाकारहरुको स्वतन्त्र प्रतिस्पर्धाबाट छनौट गरिने उनले बताए । सबैले सुनेको, देखेको र चिनिएको कलाकार, छनौट गरिने उल्लेख गरे । बोलपत्र आह्वान गर्दा कम रेट राख्नेलाई दिनुपर्ने हुँदा लोकप्रिय कलाकारले धेरै रकम माग गर्ने हुँदा आयोगले छुट्टै निर्णय गरेर त्यस्तो टोली निर्माण गर्न सक्ने अर्यालको भनाइ छ । सबै जिल्लामा पुग्न सहज नभए कम्तिमा ५० देखि ६० जिल्लामा कन्सर्ट गरिनेछ ।

सेलिब्रेटी कलाकारले भनेपनि मतदाताले विश्वास गर्ने भएकोले पनि यस्तो खालको कार्यक्रम राखिएको उनले बताए । यस्तै आयोगले निर्वाचन शिक्षाका लागि विगतमाझै घरदैलो कार्यक्रम पनि गर्ने योजना बनाएको छ । छापा, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालबाट विभिन्न भाषामा मतदाता शिक्षा सामग्री बनाएर सञ्चार गर्ने उनले बताए । स्थानीय तहको निर्वाचनको बेला भएको मत बदर संख्या प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम गराउन आयोगले मतदाता शिक्षालाई व्यापक बनाउन खोजेको उनको भनाइ छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले यतिबेला दल दर्ताको कार्यक्रम राखेको छ । यो क्रम आगामी साउन ३१ गतेसम्म जारी रहने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here