गोरखा । जिल्लाकाे रामशाह घाटमा आज शव जलाउन गएका १ जना पुरुषलाई नदीले बगाउदा बेपत्ता भएका छन् ।
गोरखा नगरपालिका १३ देउराली सिम्ले फाँटका ५५ बर्षिय भुवनबहादुर अधिकारीलाई दरौदी र मस्र्याङदी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।
बेपत्ता अधिकारीकाे खाेजी स्थानीय नागरिक र प्रहरीले गरिरहेका छन् ।
अधिकारीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा चितवनको कुरिनटारमा रहेको बिपत ब्यवस्थापन तालिम शिक्षालयबाट गोताखेरको टोली परिचालन गरिएको छ ।
मंगलबार बिहान ११:०० बजेतिर भएको घटना लगत्तै उनका आफन्त, नेपाल प्रहरी र सशत्र प्रहरीको गोताखोर टोलीले तनहुँको आँबुखैरेनीदेखी मुग्लीनको त्रिशुली नदी वरपर खोजी गरिरहेको आफन्त रिक्त बानियाँले जानकारी दिए ।
शव जलाएर मलामी फर्कने क्रममा अधिकारीले मुख धोएर आउछु भन्दै नदी भित्र छिर्ने बित्तिकै पानीको वहावले बगाएको मलामी गएका मध्ये १ जनाले गोरखा समाचारलाई जानकारी दिए । ‘दरौदी र मस्र्याङदी नदीको भंगालोले बगाएर बिच भागमा पुरयाए पनि उनी एक पटक उठेको तर पुनः पानीले बगाए’ उनले बताए ।
बेपत्ता अधिकारीको खोजी कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।






