गोरखा, २१ पौष । गोरखा-काठमाण्डौं एकीकरण मार्गमा सेनाको पदयात्रा आजबाट सुरु भएको छ । राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा गोरखामा रहेको नेपाली सेनाको रिपुमर्दन गणका जवानहरुले आजबाट पदयात्रा शुरु गरेका हुन् ।
बिहीवार गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट शुरु भएको पदयात्रामा गणका उपसेनानी बम बोगटको नेतृत्वमा ३० जनाको टोली सहभागी भएको गणपती हेमराज विष्टले जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेको नेपाली सेनाको पहिलो ५ कम्पनी -श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज गण) का झण्डाहरु लिएर पदयात्राको सुरु गरेको हो । पृथ्वी नारायण शाहकालिन पोशाकमा बाजागाजा सहित टोलीले संघिय राजधानी काठमाण्डौंसम्मको यात्रा तय गर्ने रिपुमर्दन गणले जनाएको छ ।

गोरखा दरवारबाट शुरु भएको यात्राले छिमेकी जिल्ला धादिङ, नुवाकोट हुदै पौष २७ गते काठमाण्डौ पुग्ने छ । ‘यात्रारत टोलीले गोरखा नगरपालिकाको भीमसेन पार्क हुदै ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै भीमसेन थापा र शहिद लखन गाउँपालिकाको सिमाना रहेको बुंकोटघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाउने छ ।

धादिङको टोलिले नुवाकोटको जवरजंग गणलाई बुझाउछ भने नुवाकोटको टोलीले काठमाण्डौको कालिध्वज गणलाई बुझाउने छ । काठमाण्डौंको टोलीले पुष २६ गते बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । उक्त टर्च र झण्डा नेपाली सेनाको मुख्यालय हुदै पुष २७ गते हनुमान ढोका पुरर्यार टुगिंने छ ।

तात्कालिन समयमा नेपाल एकिकरण बखत राजा पृथ्वीनाराण शाह र उनका सेनाहरुले प्रयोग गरेको पदमार्ग, कोट, गणी र किल्लाहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने उद्वेश्यका साथ नेपाली सेनाले केही बर्षदेखि गोरखाबाट पदयात्राको कार्यक्रम गर्दै आएको हो ।

पदयात्रामा सहभागी टोलिलाई बिहीवार एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतना मुख्यालयलका पृतनापति उपरथी दिपक कुमार वानियाँ र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले संयुक्त रुपमा उपसेनानी बम बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गर्नु गरेका थिए ।






