गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताउनुभएको छ । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर बोल्दै सभामुख धितालले भन्नुभयो–‘वर्तमान समयमा गाउँहरु रित्तो हँुदै जाने र विद्यालयमा विद्यार्थी घट्दै जानुले गाउँका विद्यालयहरु धरासायी बनेका छन’ । दक्ष जनशक्ति पलायन आजको मुख्य समस्या भएको बताउँदै शिक्षाको लागि विद्यालयहरुमा भैतिक प्रगति राम्रो देखिएपनि गुणस्तरीय शिक्षामा वृद्धि हुन नसकेको उहाँको भनाई थियो । गाउँहरुमा रोजगारीको अभाव पनि बसाईसराईको मुख्य समस्या भएको बताउँदै धितालले भन्नुभयो–‘शिक्षा पाएपछि आफै स्वरोजगार हुने र स्वदेशमै केही गर्ने जनशक्तिको अभाव छ । गाउँमा राम्रो शिक्षाको पहुँच नहुँदा बसाईसराई देखी अध्यायनको लागि विदेशिनेहरुको संख्या बृद्धि हुदै गएको छ, यो समस्या शिक्षाको ठूलो समस्याको रुपमा हामीले लिनुपर्छ’।
तिनमाने वरिपरीको बस्तीमा सुन्तला खेती हुने गरेको स्मरण गर्दै कृषि क्षेत्रको विस्तार र बजारीकरण पनि हाम्रो सामु चुनौति बनेको बताउनुभयो । सुन्तलाका बोटबिरुवाहरु मर्दै गए, नयाँ बिरुवा रोप्न र कृषिमा चासो राख्नेहरुको कमी हुँदै जाँदा गाउँहरुमा जनसंख्या घट्ने र त्यसको प्रत्यक्ष असर विद्यालयहरुमा देखिने गरेको उहाँको भनाई थियो । सरकारले शिक्षाको हरेक विकासमा अर्बाैं खर्च गरेको बताउँदै त्यस अनुरुपको परिणाम दिन स्थानीय तह देखि शिक्षक, स्थानीय बुद्धिजीवी लाग्नु पर्ने भन्दै ठोस योजना सहित जलदेवी विद्यालयको शैक्षिक प्रगतीमा चासो राख्न सबैमा उहाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बिद्यालयलाई आर्थिक सहयोग गर्नुहुने, बिद्यालयलाई जग्गा दिनुहुने, अक्षयकोष स्थापना गर्नुहुनेलाई सम्मान समेत गरिएको थियो । शैक्षिक सत्र २०७८ मा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरु, बिभिन्न खेलकुद बिदामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बिद्यार्थी तथा हाउसलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, वडा नं. ५ का वडाअध्यक्ष यम बहादुर रानामगर, स्थानीय तहका जनप्रतिनीधिहरु, बुद्धिजीवि, बिद्यालयलाई आर्थिक सहयोग गर्ने दानबिरहरुको उपस्थिती रहेको थियो ।






