तनहुँ । चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।
भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए ।
खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उनले बताए ।






