गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९/०८० अन्तर्गत दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित धावामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले संघ र प्रदेश सरकारले बिनियोजन गरेका बजेटबाट सञ्चालित पूर्वाधार बिकास योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । उनिहरुले आयोजना निर्माणको काम सूरु गरेपछि अलपत्र हुने गरेको, स्थानीय सरकारले त्यसलाई अनुगमन गर्न नसकेको गुनासो गरेका हुन् ।
स्थानीयबासी सुरेन्द्र तामाङले सडक समस्याका कारण बर्खाका वडा नम्बर ४ धावाबाट एम्बुलेन्स समेत चल्न नसक्ने अबस्था हुदैँ आएको भन्दै तत्काल बाह्रै महिना सडक सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरे । उनले किसानहरुले समयमा मल पाउन नसकेको, बाँदरको बिगबिगीका कारण कृषकहरु कृषि पेशाबाट नै बिस्थापित हुनुपर्ने अबस्थामा पुगेको भन्दै गाउँपालिकाको ध्यानकर्षण समेत गराए । अर्का स्थानीयबासी सन्दिप सिंखडाले संघ र प्रदेश सरकारबाट बिनियोजित बजेटका कामहरुको प्रभावकारी अनुगमन हुन नसकेको बताए।
उनले काशिखोल लिफट्टिङ खानेपानी आयोजना निर्माणको काम ३ बर्ष अघि नै ७० प्रतिसत सम्पन्न भईसकेर पनि अलपत्र रहेको भन्दै गाउँपालिकाको ध्यानर्कषण गराए । त्यस्तै अर्का स्थानीयबासी रुद्रबहादुर लामिछानेले वडा भित्र जथाभावी मदिरा सेवन गर्नेहरुको संख्या बढ्दै गएको र यसलै स्थानीय नागरिकहरुको स्वास्थ्यमा समस्या हुने गरेकाले मदिरा नियन्त्रणका लागि जोडदिए।
कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउदै गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले सडक समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राथामिकताका आधारमा ३ वटा सडकलाई गाउँपालिकाको लाइफ लाइन सडकको रुपमा अघि बढाएको बताए । उनले स्थानीय कृषकहरुले गर्ने उत्पादन व्यवसायिक नभई दिनचर्याका लागि मात्र हुने गरेकाले पनि स्थानीय उत्पादनलाई बजारीकरण गर्न समस्या भएको उल्लेख गरे । गाउँपालिकाले पालिका भित्र रोजगारी सृजनाका लागि सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको भन्दै सिप सिकेर आत्मानिर्भर बन्ने तर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) ले नागरिकहरुले उठाएका सवाललाई गाउँपालिकाले गम्भीरता पूर्वक लिएर समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरीन ।
उनले बिद्युत, खानेपानी, सडक पूर्वाधारको बिकाससंगै शिक्षा र स्वास्थ्यको गुणस्तर बृद्धिका लागि पनि गाउँपालिकाले जोडदिदै आएको दावी गरिन। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले गाउँपालिकाले रासायनिक मलको अभाव परिपूर्तिका लागि आगामी बैशाखदेखि झोल मल उत्पादनका लागि कृषकहरुलाई तालिम दिने तयारी गरिरहेको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका भित्रका बिभिन्न वडाका गरि करिब १३० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।






