गाेरखा । गाेरखा जिल्लामा विगत १६ वर्ष अघि दर्ता भइ सञ्चालनमा रहेकाे हाम्राे गाेरखा सन्देश दैनिकले आफूलाइ साप्ताहिकमा रुपान्तरण गरी साप्ताहिक पत्रिका प्रकाशन सुरु गरेकाे छ । नयाँ वर्ष २०८० काे अवसर पारेर पत्रिकाले डिजिटल भर्सन सार्वजनिक गरेकाे हाे । पत्रिकाका सम्पादक राजेन्द्र न्याैपाने रहेका छन् । उनले भनेका छन्, देशकाे आर्थिक अवस्था जटिलता तिर पुगेका कारण विश्वभरीका सचेत मानिसहरुबाट प्राप्त हुने सहि सुझाव नागरिकहरु समक्ष पुर्याउन पत्रिका प्रकाशन गर्न लागिएकाे हाे । जटिलतालाइ चेतनाबाट सहज बनाउन प्रकाशनकाे थालनी गरिएकाे हाे । यसले शहरी र ग्रामीण क्षेत्रका नागरिकहरुलाइ आत्मनिर्भर गराउन सहयाेग गर्दछ । आवश्यकता अनुसार विषेशाङ्क प्रकाशन समेत गर्न सक्ने सम्पादकले जनाएका छन् ।
हाम्राे गाेरखा सन्देशले प्रकाशकीयमा यसरी लेखेकाे छ :
हिमाली जिल्ला गोरखामा छापा माध्यमको पत्रपत्रिका टिकाइराख्नु सामान्य चुनौती होइन । सञ्चार माध्यम कमजोर बन्दा जिल्लामा विकृती र विसँगतिका क्रियाकलापले जित्दै जाने गर्दछ । अपार सम्भावना बोकेको गोरखा जिल्लामा शिक्षित र दक्ष जनशक्ति पलायन हुँदा यहाँ पर निर्भरहरुको जमात बढ्न थालेको छ । नागरिकहरुलाई अफ्ठेरो अवस्थामा पनि सूचना तथा सञ्चारबाट उचित सन्देश दिनको लागि गोरखा जिल्लाको जनताको भावना समेट्न साप्ताहिक रुपमा पठनबोध सहितको पत्रिका आवश्यकता महसुस भएको हुँदा जनताको माग अनुसार हाम्रो गोरखा सन्देश साप्ताहिक रुपमा प्रकाशन गर्ने कोशिश भएको छ ।
डिजिटल भर्सनमा विश्वभरी र हार्ड पेपर गण्डकी प्रदेशका जिल्लामा वितरण गर्ने गरि व्यवस्थापन मिलाइएको छ । प्रत्येक सोमबार प्रकाशित हुने हाम्रो गोरखा सन्देशले जिल्लाको विकासमा यस अघि जसरी नै उचाइ थप्न मद्दत गर्नेछ । कसैको दवाव र प्रभावमा नपरी निडरताका साथ यसले जनतालाई सूचना दिनेछ । पछिल्लो समय जिल्लामा भएका वेथितिलाइ यसले जनतासामु जस्ताको जस्तै बताइदिनेछ । पत्रिकाका ग्राहक हाम्रा मुख्य स्रोत हुन् । उनीहरुले पत्रिका पढेर हामीलाइ गर्ने सहयोगले नै यसको पूर्ण व्यवस्थापन हुनेछ ।
हामीले पठनयोग्य सामग्रीको विकासमा जोड दिनेछौँ । अहिलेको कमजोर आर्थिक धरातलमा पत्रिकाको महत्व र जनतालाइ सचेत गराउनुपर्ने कर्तव्य ठानेर हाम्रो गोरखा सन्देश तपाइँहरु सामु प्रस्तुत भएको हो । सहज अवस्थामा जसले पनि मिडिया सञ्चालन गर्न सक्दछ । असहज परिस्थितिमा सहजता पहिल्याउन हाम्रो गोरखा सन्देश मार्गदर्शक बन्नेमा पँक्तिकार दृढ छ । हाम्रो गोरखा सन्देशलाई विगतमा जसरी नै यहाँहरुले अथाह माया दिनुहुनेछ । नयाँ वर्ष २०८० को हार्दिक मँगलमय शुभकामना !






