आज श्रीकृष्ण जन्माष्टमी, राष्ट्रपतिद्वारा सद्भाव कायम गर्दै सत्कर्ममा लाग्न सन्देश

बुधबार, भदौ २०, २०८०
0
106

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएका छन् ।

भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले सो कुराको अपेक्षा गरेका हुन् ।

राष्ट्रपति पौडेलले भनेका  छन् , “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको छु ।”

विश्वभर हिन्दू धर्मावलम्बीले भक्तियोग, ज्ञानयोगर कर्मयोगका प्रणेताभगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनास र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रही आएको छ ।

विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोहजस्ता कुभावना त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको भगवान् श्रीकृष्णको महिमायुक्त गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको छ ।

उनले भनेका छन्, “अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी सद्भाव, दया, नैतिक आचरण, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here