निजामति सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र गोरखाले जिल्लामा कार्यरत कर्मचारीहरुबिच बिहीबार हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
१० समूहको सहभागीता रहेको प्रतियोगितामा पाङ्खर हिमाल नाम दिइएको मालपोत कार्यालयका कर्मचारी दिपककुमार गुरुङ, श्यामकुमार श्रेष्ठ र बिक्रम सुवेदीको समूह पहिलो भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु समीर आचार्य, नविन बस्नेत र श्यामसुन्दर ढकालको बुद्ध हिमाल समूह दोस्रो र प्रशासनकै कर्मचारीहरु निर्मल राना, सुवास पौडेल र विश्व रोकामगरको मनासलु हिमाल समूह तेस्रो भएको छ ।
यस्तै वारपाक सुलिकोट गाऊँपालिकाका कर्मचारीहरु कविता पाण्डे, दर्शन न्यौपाने र तेजनाथ पाठकको लोप्साङ हिमाल समूहले सान्त्वना स्थान प्राप्त गरेको कर्मचारी मिलन केन्द्र गोरखाका सचिव टेकबहादुर कोइरालाले बतए ।
दर्शकदीर्घाबाट सबैभन्दा धेरै प्रश्नको उत्तर मिलाउने समीक्षा गौतमलाई प्रतियोगिताकै क्रममा पुरस्कृत गरिएको छ । विजेता समूहहरुले क्रमशः १० हजार, ७ हजार ५ शय, ७ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
शुक्रवार निजामति सेवा दिवसका दिन पुरस्कार वितरण लगायतको कार्यक्रम हुने कोइरालाले जानकारी दिए । कर्मचारी मिलन केन्द्र गोरखाका अध्यक्ष सुवास आचार्यको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा मिलन केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
निजामति सेवा दिवसकै अवसरमा बिहीबार बृक्षारोपण गरिएको छ । गोरखा नगरपालिका ६ को बिसे नगर्ची पार्क क्षेत्रमा विभिन्न प्रजातिका करीव २ शय ५० वटा विरुवा रोपिएको केन्द्रले जनाएको छ ।






