नविक कुँइकेल । लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो।
वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका याेजना शाखा प्रमुख चित्र घलेकाे घर पहिराेले बगाएकाे छ ।
पहिराेमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छाेरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङकाे मृत्यु भएकाे छ ।
रूद्रमानकाे श्रीमती छिमेकी घरमा सुतेकाे र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडासदस्य घलेले जनकारी दिए । पहिराेमा परि चित्रका भाइ भिमबहादुर घले भने घाईते भएका छन् ।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टाेली जाँदै गरेकाे प्रहरी निरक्षक थानेश्वर चपाईले जानकारी दिए । उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टाेलीपनि घटनास्थल पुग्दैछ । घटनाकाे विस्तृत विवरण आउन बाँकि छ ।






