सिरानचोक गाउँपालिकाको केन्द्र अन्ततः चित्रे पोखरीमै कायम, सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि विवादको टुंगो

सोमवार, भदौ १६, २०८२
0
290

गोरखा  । लामो समयदेखि विवादमा परेको गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको केन्द्र अन्ततः वडा नं. ५ मा पर्ने चित्रे पोखरीमै कायम हुने भएको छ । सर्वोच्च अदालतले यससम्बन्धी दायर गरिएको रिट खारेज गरेसँगै करिब पाँच वर्षदेखि चल्दै आएको बहस र विवादलाई पूर्ण विराम लागेको हो।

२०७७ असार ३१ गते बसेको गाउँसभाले तत्कालीन वडा नं. ५ को छोप्राक मैदानबाट पालिकाको केन्द्र सारेर सोही वडाको चित्रे पोखरीमा राख्ने निर्णय गरेको थियो। दुई तिहाइ बहुमतले गरिएको उक्त निर्णयपछि तत्कालीन अध्यक्ष राजु गुरुङ, उपाध्यक्षसहित गाउँ कार्यपालिकाविरुद्ध चूडामणि पोखरेल लगायत नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिट दर्ता भएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै गाउँपालिकाको केन्द्र तत्काल सार्न नपाउने निर्देश दिएको थियो। पोखरेल पक्षले गाउँपालिकाको कार्यालय सबै नागरिकलाई पायक पर्ने गरी आफ्नै घर नजिकै राखिनुपर्ने दाबी गर्दै चित्रे पोखरी सराउने निर्णय अस्वीकार गरेका थिए। तर गाउँपालिका कार्यपालिकाले भने पुरानो गाविस भवन रहेको जमिन साँघुरो हुनुका साथै सुविधाजनक नहुनुले चित्रे पोखरी रोजिएको स्पष्ट पार्दै आएको थियो।

यसैबीच, विवाद टुंगो नलागे पनि गाउँपालिकाले अस्थायी रूपमा चित्रे पोखरीमै कार्यालय सञ्चालन गर्दै आएको छ। तर, मुद्दा विचाराधीन भएकाले आफ्नै भवन निर्माण गर्ने प्रक्रिया भने स्थगित भएको थियो।

करीब पाँच वर्षसम्म झुण्डिएको मुद्दामा अन्ततः गत आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले सुनुवाइ गर्दै सबै दाबी अस्वीकार गरेको छ। रिट खारेज भएपछि गाउँसभाले दुई तिहाइ बहुमतले गरेको निर्णय कानुनी रूपमा सदर भएको छ।

सर्वोच्च अदालतको फैसलापछि अब गाउँपालिकालाई आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको छ। पालिका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरूले लामो समयदेखि अधुरो बनेको काम अब अघि बढाउने तयारी गरिरहेका छन्।

स्थानीयवासीका अनुसार, पालिका केन्द्र टुंगो लागेसँगै विकासका काममा तीव्रता आउने र सेवाप्रवाह अझ सहज हुने अपेक्षा गरिएको छ। विभिन्न कारणले अप्ठ्यारोमा परेको प्रशासनिक कामकाज अब भने स्थिर हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

यसरी, सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै सिरानचोक गाउँपालिकाको केन्द्र चित्रे पोखरीमै स्थायी रूपमा रहने निश्चित भएको छ र पालिकाभित्र लामो समयदेखि देखिएको विवाद औपचारिक रूपमा अन्त्य भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here