गाेरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यवस्थित, जिम्मेवार र नैतिक बनाउने उद्देश्यका साथ नौ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ। पत्रकारितामा बढ्दो प्रविधि प्रयोगसँगै देखिन थालेका चुनौती र सम्भावनालाई ध्यानमा राख्दै महासंघले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो।
महासंघको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश र अजिरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको ‘पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र क्षमता अभिवृद्धि’ सम्बन्धी दुई दिने तालिमको अवसरमा उक्त प्रतिबद्धता पत्र जारी गरिएको हो। तालिममा सहभागी पत्रकारहरूलाई एआईको प्रयोग, यसको प्रभाव, जोखिम तथा अवसरबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
जारी गरिएको प्रतिबद्धता पत्रमा पत्रकारितामा एआईको सही सदुपयोग गर्दै यसको प्रयोगलाई प्रोत्साहन गर्ने र सम्भावित दुरुपयोगलाई निरुत्साहित गर्ने स्पष्ट उल्लेख गरिएको छ। विशेषगरी एआईको सहायतामा तयार गरिएका समाचार सामग्रीहरूलाई प्रकाशन वा प्रशारण गर्नु अघि पत्रकार स्वयंले अनिवार्य रूपमा सम्पादन गर्ने व्यवस्था कार्यान्वयनका लागि पहल गरिने महासंघले जनाएको छ।
एआईद्वारा सिर्जना गरिएका सामग्रीहरूमा स्रोत उल्लेख अनिवार्य गरिने र यस्ता सामग्रीबाट कुनै नकारात्मक प्रभाव परेमा सम्बन्धित सञ्चार माध्यम वा पत्रकार स्वयं जवाफदेही हुनुपर्ने व्यवस्था गरिएको छ। पत्रकारिताको मूल मान्यता सत्यता, निष्पक्षता र जवाफदेहितामा कुनै असर नपर्ने गरी मात्र एआईको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
प्रतिबद्धता पत्रमा एआई प्रयोग गर्दा भ्रम फैलाउने, गलत सन्देश प्रवाह गर्ने, वर्गीय पक्षपात गर्ने वा कुनै समुदाय, व्यक्ति वा समूहलाई अपमानित गर्ने सामग्री उत्पादन, प्रकाशन तथा प्रशारण नगर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यसले पत्रकारिताको विश्वसनीयता कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
महासंघले एआई प्रविधिको प्रयोगलाई थप प्रभावकारी र सुरक्षित बनाउन निरन्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ। मानव रोजगारी, सिर्जनशीलता र पत्रकारिताको मौलिकतामा नकारात्मक असर नपर्ने गरी नयाँ प्रविधिको उपयोग गर्नुपर्नेमा विशेष जोड दिइएको छ।
एआईको प्रयोग बहुआयामिक र तीव्र गतिमा विस्तार भइरहेकाले यसको दुरुपयोग न्यूनिकरण गर्न र सदुपयोगलाई प्रवर्द्धन गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँगै सरोकारवाला निकायहरूले एआई सम्बन्धी ज्ञान, शिक्षा र सीप विस्तार गर्ने कार्यक्रम तत्काल ल्याउन आवश्यक रहेको महासंघले ध्यानाकर्षण गराएको छ।
एआईको दुरुपयोग नियन्त्रण गर्न गोरखा शाखाले आवश्यक पहल थाल्ने प्रतिबद्धता पनि जनाएको छ। तालिम शुक्रवार र शनिवार सञ्चालन गरिएको थियो, जसमा पत्रकारहरूलाई एआईको प्रयोगसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिम अवधिभर सञ्चारकर्मी जीवन भण्डारीले सहजिकरण गर्नु भएकाे थियाे ।
तालिम उद्घाटन कार्यक्रम महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रेस रजिष्ट्रार बिमला भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष किशोरजंग थापा,अजिरकाेट गाउँपालिका अध्यक्ष दिपक देवकाेटा, उपाध्यक्ष अनिता भुजेल लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।
अजिरकाेट गाउँपालिकाले गण्डकी प्रदेशमा शिक्षा, स्वास्थ्य र कृषिकाे क्षेत्रमा उल्लेखनीय कार्य गरेकाे छ । प्रदेश भरीमा विभिन्न विधामा पालिका प्रथम दाेस्राे र तेस्राे स्थानमा रहेकाे छ । भ्रष्टचार शुन्य पालिकाकाे रूपमा पहिचान कायम गरेकाे अजिरकाेट गाउँपालिकाले पर्यटनकाे पुर्वाधारमा उलेख्खय लगानी गरेकाे छ ।
बाहिर रहेर अाम्दानी गरेकाहरु अजिरकाेटकाे माटाेमा लगानी गर्न थालेका छन् ।






