‘पुस्तान्तरण नगरे शीर्ष नेताहरूलाई जनताले हटाउँछन्’

आइतवार, असाेज ५, २०८२
0
102

काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलनपछि राजनीतिक दलमा पनि पुस्तान्तरण हुने कुरा चर्चाको विषय बनेको छ । तर, दलका शीर्ष नेताहरूबाट त्यस्तो संकेत हालसम्म बाहिर आएको छैन ।

पार्टीका कुनै पनि अध्यक्ष वा शीर्ष नेताहरूले आफू पुस्तान्तरण गर्न तयार रहेको घोषणा गरेका छैनन् । बरु सकेसम्म पेलेरै जाने नीति लिएको देखिन्छ । त्यसले गर्दा कतिपय पार्टीमा विद्रोह पनि सुरु भएको छ ।

त्रिविका प्राध्यापक डा। पारसनाथ यादव भन्छन्, ‘जेनजी पुस्ताको आन्दोलनको मुख्य उद्देश्य नै पुस्तान्तरण हो, यसले अब तिमीहरू हट, हामी देश चलाउँछौं भनेर स्पष्ट रूपमा भनिसकेका छन् । त्यो राज्य तथा सरकारमा मात्र होइन, राजनीतिक दलदेखि लिएर हरेक क्षेत्रमा पुस्तान्तरणको सन्देश गएको छ ।’

अहिलेका राजनीतिक दलहरूले पनि आन्दोलन गरेरै स्थापित भएका हुन्, चाहे कांग्रेस, एमाले, माओवादी होस्, तराई मधेस केन्द्रित दल किन नहोस् तर त्यही आन्दोलनको ब्याज खाएर अब बस्न मिल्दैन । प्राध्यापक यादवले पुस्तान्तरण गर्न आवश्यक होइन, अनिवार्य भइसक्यो भन्दै यदि नेतृत्व हस्तान्तरण गरेनन् भने त्यसको जवाफ जनताले दिने बताए ।

माक्र्सले भनेका छन्, दलका कुनै नेतामा गडबड छ भने त्यसको आलोचना हुनुपर्छ, आलोचना भएन भने त्यो राजनीतिक दल अगाडि बढ्दैन तर यहाँका युवा नेताहरूले आलोचना गर्न पनि डराएका उनले टिप्पणी गरे । भने, ‘राजनीतिक दलका युवाले पनि अब बोल्नुपर्छ, ठाउँ खाली गर भन्नुपर्छ ।’

चे ग्वेभाराले पनि झूट बोल्ने नेताहरू कहिले राजनीति गर्न नसक्ने तर यहाँका हरेक नेता झूटको राजनीति गरेर जनतालाई गुमराहमा राखेका उनको टिप्पणी छ ।

नागरिक अभियन्ता सुरेन्द्र चौधरीले पनि राजनीतिक दलका शीर्ष नेताहरूले नेतृत्व हस्तान्तरणमा ढिला गर्न नहुने बताए । ‘युवालाई राजनीतिक दलको नेतृत्व हस्तान्तरण गरेनन् भने त्यत्तिकै अगाडि बढ्दैन,’ उनले भने, ‘पुराना दलहरूले जसरी फेरि उठ्छौं भनिरहेका छन् त्यो सही हो तर अब उठ्नका लागि नेतृत्व युवाको काँधमा दिनुपर्छ ।’

देशमा यतिका भइसक्दा पनि दलका अध्यक्षहरूले नयाँ पुस्तालाई कार्यभार दिन पनि तयार नरहेको भन्दै अभियन्ता चौधरीले ती नेताहरूले जेनजी पुस्ताको आन्दोलनलाई अपमान गरेको टिप्पणी गरे । पुराना दलहरू दलीय सिन्डिकेटबाट अझै पनि बाहिर निस्कन तयार नदेखिएको बताउँदै उनले यस्तै अवस्था रहने हो भने आगामी चुनावमा यसको हिसाबकिताब जनताले गर्ने चेतावनी दिए ।

अधिवक्ता दीपेन्द्र झाले पनि पार्टीका शीर्ष नेताहरूले तत्काल नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिए । ‘जति ढिलो हुन्छ दलहरूलाई त्यति नै क्षति हुन्छ,’ उनले भने, ‘पुस्तान्तरण नगरे ती नेताहरू दलमा त रहलान् तर जनतामा रहँदैनन् ।’ उनले अहिले उनीहरूले बुद्धि पुर्‍याएनन् भने आगामी चुनावमा जनताले हटाइदिने बताए ।

जेनजी पुस्ताले गरेको आन्दोलनको प्रभाव लामो समय रहने भएकाले दलका शीर्ष नेताहरूले बुद्धि पुर्‍याएर नेतृत्व हस्तान्तरण गर्दा नै उत्तम हुने उनको सुझाव छ ।

दलहरूमा आन्तरिक छलफलहरू सुरु त भएका छन् तर ती छलफलमा कुनै पनि पार्टीका अध्यक्ष वा शीर्ष नेताहरूले पुस्तान्तरणको विषयमा कुरा गरेका छैनन् ।

शीर्ष नेताहरू पर्ख र हेरको अवस्थामा छन् । छोडिहाल्ने मनस्थितिमा कुनै पनि शीर्ष नेता गएका देखिँदैनन् । रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here