गोरखकाली र मनकामना स्थित दशैँघरमा जमरा राखियो

सोमवार, असाेज ६, २०८२
0
84
गाेरखा कालिका स्थित दशैँघर

६ असोज, गोरखा । धार्मिक एवं ऐतिहासिक गोरखा जिल्लामा अवस्थित प्रसिद्ध श्री भवानी गोरखकाली भगवती मन्दिरमा २०८२ सालको बडा दशैँको घटस्थापनाका दिन आज ९ बजेर १३ मिनेट जाँदाको शुभ साइतमा दशैँघरमा जमरा राखिएको छ ।
आश्विन ६ गते अर्थात आश्विन शुक्लपक्ष प्रतिपदा तिथि शुभ ब्रहम्हामुर्तमा श्री भवानीको कैलाश देखि गर्व गृह अर्थात् दशैं घर पूजा कोठामा सवारी गराए पश्चात पञ्चाङ्ग निर्णय विकास समितिको निर्णयअनुसार बिहान ९ बजेर १३ मिनेटको समयमा विधिवत घटस्थापना अर्थात् जमरा राख्ने काम भएको मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सबेरै मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको भट्टराईले बताउनुभयो ।

मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।

शक्ति स्वरूपा श्री गोरखकाली भगवतीको नित्य पुजा गर्दा सबैमा सुख शान्ति अमन चैन प्राप्त हुने भनाई रहँदै आएको छ।

बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलिदिने प्रचलन छ । यसैगरी, गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण नित्यपूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताउनुभयो । गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको थापाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here