
राजेन्द्र न्यौपाने
गोरखा, १९ साउन । गोरखाको पालुङटार नगरपालिका–९ स्थित मिरकोट स्वास्थ्य चौकीको सेवा तथा पूर्वाधार विस्तारका लागि प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीसहित चार जना स्थानीयले दुई रोपनी दुई आना जग्गा दान गरेका छन्
स्वास्थ्य चौकीको नाममा सांसद बुर्लाकोटीले १२ आना, केशव पन्तले ८ आना, काजीराम पन्तले ८ आना र टंकप्रसाद पन्तले ६ आना गरी कुल दुई रोपनी दुई आना जग्गा निःशुल्क हस्तान्तरण गरेका हुन् । उक्त जग्गा स्वास्थ्य चौकीको नाममा विधिवत् नामसारी (पास) भएको छ ।
पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेषराज पाण्डेका अनुसार स्वास्थ्य चौकीको भौतिक संरचना विस्तार, सेवा व्यवस्थापन तथा भविष्यमा थप स्वास्थ्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गाको अभाव रहेकाले स्थानीयको सहयोगबाट समस्या समाधान भएको हो । उहाँले जग्गादानले स्वास्थ्य संस्थाको दीर्घकालीन विकासमा महत्वपूर्ण आधार तयार गरेको बताउनुभयो ।
हाल पिपलटारी क्षेत्रका बासिन्दाले सामान्य स्वास्थ्य सेवाका लागि पनि टाढाका स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पाण्डेले अब स्वास्थ्य चौकीको क्षमता विस्तार गरी मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप, आकस्मिक उपचार तथा आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
स्थानीय कमला पन्तले स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सांसद बुर्लाकोटीले गरेको योगदानलाई उदाहरणीय सामाजिक उत्तरदायित्वको कार्य भएको बताउनुभयो । पन्तका अनुसार पर्याप्त जग्गा अभावका कारण स्वास्थ्य चौकीको दीर्घकालीन योजना कार्यान्वयनमा समस्या हुँदै आएको थियो ।
जग्गादाता काजीराम पन्तले स्थानीय नागरिकको स्वास्थ्य सुविधालाई प्राथमिकतामा राखेर समाजप्रतिको दायित्वबोधका साथ जग्गा दान गरिएको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य बुर्लाकोटीले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । साँसद बुर्लाकोटीले आगामी दिनमा पनि जनहित र विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयवासीका अनुसार जग्गादानपछि मिरकोट स्वास्थ्य चौकीको भौतिक विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा भविष्यमा आवश्यक स्वास्थ्य पूर्वाधार निर्माणका लागि मार्ग प्रशस्त भएको छ । यसबाट पालुङटार नगरपालिका ९ का साथै गोरखा नगरपालिकाका केही वडा र आसपासका बासिन्दासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।



