सांसद बुर्लाकोटीद्वारा पहिरो प्रभावित क्षेत्रको अनुगमन, पीडितलाई राहत उपलब्ध गराउन आग्रह

-


     मनासलु     
     श्रावण १८ गते २०८३ मा प्रकाशित



राजेन्द्र न्यौपाने
१८ साउन, गोरखा । प्रतिनिधिसभा सदस्य तथा गोरखा निर्वाचन क्षेत्र नम्बर–२ का सांसद कविन्द्र बुर्लाकोटीले गोरखा नगरपालिका–९ लक्ष्मीबजार क्षेत्रमा पहिरो प्रभावित बस्तीको स्थलगत अवलोकन गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।
आइतबार लक्ष्मीबजारमा आयोजित स्थानीयवासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा सांसद बुर्लाकोटीले वर्षाका कारण उत्पन्न विपद्, विकास निर्माणका काम र स्थानीय जनताका समस्या तथा आवश्यकताबारे जानकारी लिनुभएको थियो ।
कार्यक्रमपछि उहाँले पहिरोका कारण क्षति पुगेको घरको स्थलगत निरीक्षण गर्दै प्रभावित परिवारको अवस्थाबारे जानकारी लिनुभएको थियो । स्थानीय मानसिँह गुरुङको घर पहिरोले लगेको थियो । सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि बगाएर लगेको हो । ‘घर पहिरोले बगाएर यथास्थितिबाट करिब २० मिटर तल पुर्‍याएको थियो’, , ‘दुर्घटनामा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका टोखान महतो घाइते भएका थिए ।’ घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको छ । महतोको पेट, खुट्टामा लछारेर र ददारेर सामान्य चोट लागेको प्रहरीको भनाइ छ ।
पहिरोका कारण जोखिममा परेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायलाई आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।
सांसद बुर्लाकोटीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सबै सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गर्नुभयो। विपद्बाट प्रभावित परिवारलाई आवश्यक सरकारी सहयोग उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
स्थानीयवासीले वर्षायाममा बढ्दो पहिरोको जोखिम, सडक, खानेपानी तथा अन्य आधारभूत सेवासम्बन्धी समस्याबारे सांसद बुर्लाकोटीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पहिरो नियन्त्रण, जोखिम न्यूनीकरण तथा प्रभावित परिवारको सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी पहल गर्न माग गरेका छन् ।