गोरखा, २२ असार। गोरखा जिल्लालाई सोमबार औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पूरा गर्दै जिल्लाका सबै वडालाई क्रमशः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्ला स्तरमा पनि औपचारिक घोषणा गरिएको हो। यससँगै गोरखाले बालबालिकाको नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिमृन काफ्लेका अनुसार पूर्णखोप घोषणा कुनै एकदिने कार्यक्रम नभई लामो समयदेखि सञ्चालन हुँदै आएको नियमित खोप अभियान, स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको सक्रिय सहभागिताको परिणाम हो।
उनले भनिन्, “गत फागुन, चैत र वैशाख महिनामा जिल्लाका प्रत्येक वडा तथा टोलमा घरदैलो सर्वेक्षण सञ्चालन गरिएको थियो। उक्त सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाए–नलगाएको तथा १५ महिनामुनिका बालबालिकाले नियमित खोप सेवा लिए–नलिएको अवस्थाको विस्तृत अध्ययन गरिएको थियो।”
सर्वेक्षणका क्रममा जिल्लामा १६ देखि २३ महिनासम्मका एक हजार ७ सय ७५ जना तथा १५ महिनामुनिका दुई हजार ७ सय ६४ जना बालबालिका रहेको तथ्यांक प्राप्त भएको थियो। ती सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न आवश्यक आधार पूरा भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सर्वेक्षणको क्रममा यस वर्ष जिल्लाभर कुनै पनि बालबालिका पूर्ण रूपमा खोपबाट वञ्चित नभेटिएको जनाइएको छ। यद्यपि, ६ जना बालबालिकाले आंशिक मात्र खोप लगाएको अवस्था फेला परेको थियो। उनीहरूको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामार्फत छुटेका सबै खोप समयमै लगाइएको जिल्ला खोप समन्वय समितिले जनाएको छ। यसले जिल्लामा कुनै पनि बालबालिका नियमित खोप सेवाबाट बाहिर नरहून् भन्ने सरकारको नीति प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिएको छ।
जिल्लाका खोप फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार सरकारले प्रत्येक वर्ष माघदेखि चैत महिनासम्म घरधुरी सर्वेक्षण सञ्चालन गर्ने, वैशाख महिनालाई ‘खोप महिना’का रूपमा मनाउने तथा सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ।
उनले नियमित खोप कार्यक्रम बालबालिकालाई क्षयरोग, पोलियो, दादुरा–रुबेला, डिप्थेरिया, लहरे खोकी, टिटानस, हेपाटाइटिस–बी, निमोनिया, जापानी इन्सेफ्लाइटिस, रोटाभाइरसलगायत विभिन्न संक्रामक तथा ज्यान जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने प्रभावकारी माध्यम भएको बताए। नियमित खोपले बाल मृत्युदर घटाउनुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ थियो।
स्वास्थ्य अधिकारीहरूले पूर्णखोप घोषणा अन्तिम उपलब्धि नभई यसको दिगोपना कायम राख्नु अझ ठूलो चुनौती रहेको बताएका छन्। बसाइँसराइ, नयाँ जन्मिने बालबालिका, दुर्गम बस्ती तथा विभिन्न कारणले छुट्न सक्ने बालबालिकालाई नियमित रूपमा खोप सेवाको पहुँचमा ल्याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूले जोड दिएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले नियमित खोप प्रत्येक बालबालिकाको मौलिक स्वास्थ्य अधिकार भएकाले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिएका थिए। उनीहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि, समयमै खोप केन्द्रमा उपस्थित हुने संस्कृतिको विकास तथा नियमित अनुगमनमार्फत पूर्णखोपको उपलब्धिलाई आगामी वर्षहरूमा पनि कायम राख्नुपर्ने आवश्यकता औँल्याए।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियार, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिमृन काफ्ले, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख तथा कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्लामा पूर्णखोप सुनिश्चित गर्न योगदान पुर्याउने स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
गोरखा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, सबै बालबालिकाले पाए नियमित खोप