मुक्तक(१)
अरुको मन जितेमा खुशी त्यसै मिल्ने रैछ
मनसँग मन मिलेमा खुशि त्यसै मिल्ने रैछ
रिस ,राग र घमण्डले आफैंलाई हानी गर्छ
यहि कुराहरु बुझेमा खुशी त्यसै मिल्ने रैछ ।
मुक्तक (२)
यो जिन्दगी यताको न उताको भैदियो
जस्तो सुँगाझैँ बन्दी पिँजडाको भैदियो
कहिले अरुको भर कहिले आफ्नै भर
बुझ्न नसकेर जिवन झमेलाको भैदियो ।
मुक्तक(३)
घर घडेरि हुँदैमा मान्छे अमिर नहोला
बसिखाने मोजमस्तिमा तकदिर नहोला
बाहिरी हाँसो देख्दैमा खुशी के छ भन्नू
भन्न सकिदैन उस्लाई पनि पिर नहोला ।
मुक्तक(४)
झन्झन् पिडादायी अबस्थामा परेका छौँ
कोभिड१९ले गर्दा बाध्यतामा परेका छौँ
न त कामकाज चल्छ न त पैसो आउँछ
जिवन होला मरण झमेलामा परेका छौँ ।
मुक्तक(५)
गाउँ खुल्ला छ शहर साघुँरो हुन थाल्यो
शान्ति हराउँदै द्वन्दको कुरो हुन थाल्यो
राजनीति यसरी मौलायो कि घर घरमा
मान्छेसँग मान्छे पनि चतुरो हुन थाल्यो ।
रमेश “संयोग” श्रेष्ठ
माेरङ,उर्लाबारी
हाल रियाद साउदी






