कार्तिक २ , तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै परिवारका १२ जना बिरामी भइ दमाैली अस्पतालमा भर्ना भएका छन् । जन्मदिन मनाउने क्रममा केक खाँदा उनीहरु बिरामी परेका हुन ।
स्थानीय ११ वर्षीय प्रज्वल गैह्रेको जन्मदिनमा शनिबार राति सबैले केक खाएका थिए । केक खाएपछि झाडापखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ ।
बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।






