गाेरखाका बाघेद्वारा प्रहरी समक्ष आत्मसमपर्ण

मङ्लबार, मंसिर ३०, २०७७
0
278

मङ्सिर ३०, गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले हातहतियार तथा खरखजना मुद्दामा ९ महिना कैद र ८० हजार रुपैया जरिवाना तोकेका फरार अभियुक्त ‘बाघे’ भनिने धनबहादुर घलेले प्रहरी समक्ष आत्मासर्मपण गरेका छन् । गएको ६ बर्षदेखि फरार हुदै आएका घलेले आज जिल्ला प्रहरी कार्यालय गोरखा समक्ष आत्मासर्मपण गरेको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

जिल्लाको बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाक घर भएका घले २०७२ सालमा अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित पक्राउ परेका थिए । पक्राउ परे लगत्तै सदरमुकाम तर्फ ल्याउने क्रममा स्थानीयबासीको सहयोगमा उनि प्रहरी नियन्त्रणबाट भाग्न सफल भएका थिए ।

‘तत्कालिन अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर गोरखा सदरमुकाम तर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेर हतकडी सहित भागेका घले आज आएर प्रहरी समक्ष आत्मासर्मपण गरेका हुन्’ एसपी गुरुङले भने, ‘अनेक प्रयासपछि प्रहरी समक्ष आत्मासर्मपण गर्न बाध्य पारिएको हो ।’ आत्मासर्मपण गरेका घलेलाई २०७३ साल मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय गोरखाले ९ महिना जेल सहित जरिवाना सुनाएको थियो ।

फरार भएको भनिएपनि उनलाई पछिल्लो समय बारपाकका बिभिन्न क्षेत्रमा सार्वजनिक कार्यक्रममा देखिन गरेको थियो । सार्वजनिक कार्यक्रम देखिदा समेत नियन्त्रण लिन नसक्दा घले प्रहरीका लागि टाउको दुखाईको बिषय बन्दै आएकाे थियाे। आत्मासर्मपण गरेका उनलाई जिल्ला अदालत मार्फत कैद भुक्तानीका लागि कारागार पठाउने तयारी भइरहेको एसपी गुरुङले बताए ।

‘कोरोना संक्रमणको जोखिमका कारण कोरोना परीक्षणको रिर्पोट प्राप्त भएपछि मात्र घलेलाई कारगार पठाइने उनकाे भनाई छ । उनलाई अहिले प्रहरीको थुनुवा कक्षमा विशेष निगरानीका साथ राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here