धर्मिला कार्की का पाँच मुक्तकहरु

बिहिबार, फाल्गुन २०, २०७७
0
275

मुक्तक -१

गणतन्त्र आयो शासक फेरिए देशको मुहार फेरिएन
सँधै हत्याहिंसा भएपछि अखबारमा समचार फेरिएन
क्रान्ति सफल पार्दा नै हो सरकार मेरो बा को ज्यान गएको
तर विधानको धारा फेरिए, शहिदको परिवार फेरिएन

मुक्तक-२

साथीहरु झैं लाइनमा उभिएर राष्ट्रिय गित गाउँथे होला
आज्ञाकारी भै शिक्षक शिक्षिकाको मनमुटुमा छाउँथे होला
बच्चैमा टुहुरो नबनी मेरो पनि बाआमा भएका भए आज
सफा पोशाक लगाई हाँस्दै खेल्दै स्कुल जान पाउँथे होला

मुक्तक -३

आत्माबाटै तिर्खाएपछि समुन्द्र नभेटि प्यास के मेटिन्छ र!
आँफैलाई नचिनी अगाडि बढ्दैमा लक्ष्य कहाँ भेटिन्छ र!
धनी गरिब बीचको पर्खाल बाधक बनी उभिए पनि यहाँ
जो दृढ अठोट लिन्छ उसको सपना रेटेर कहाँ रेटिन्छ र!

मुक्तक -४

भोको पेट त माग्दै फालेको टिप्दै दुई गाँसले पुरा गर्ने हामी
ओत लाउने ठाउँ पनि सडकपेटीको बासले पुरा गर्ने हामी
गरिब भएर जन्मिएपछि गाँस र बासको टुंगो नहुनेले
पढ्ने इच्छा त पर्खाल छेउँ उभिई हेर्न पाउने आशले पूरा गर्ने हामी

मुक्तक -५

बिर्सु भन्छु आँखामा तिम्रो तस्बिर झल्झली ठोकिन्छ के गरौं
कर्णप्रिय आवाज, बिगतको पल ताजा भै घोकिन्छ के गरौ
रक्तसञ्चार बनि आएका थियौ हरेक श्वासको झोक्कामा
निष्ठुरी भै टाढा गयौ अब धड्कन पनि रोकिन्छ के गरौं।
धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: काठमाडौं-३, महाराजगञ्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here