अयोग्य दिगम्बरलाई दूरसञ्चारको अध्यक्षमा पुनः सिफारिस

बिहिबार, भदौ १४, २०७५
0
166

१४ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा बिम्स्टेक शिखर सम्मेलन परेको छ । आजबाट शुरु हुन लागेको सम्मेलनबारे पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा खबर लेखेका छन् ।

नेपालले १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जितेकोलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । पुरुष टिम क्रसकन्ट्री विधामा नेपालले पाँच राउन्डको समाप्तिपछि ऐतिहासिक पदक जितेको हो ।

पश्चिम सेतीको निर्माण अन्योलमा परेकोलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले स्थान दिएका छन् । यो आयोजनामा लगानी गर्न इच्छुक चिनियाँ कम्पनी थ्री गर्जेजले सर्तमाथि सर्त देखाएपछि आयोजना निर्माण अन्योलमा परेको हो ।

पहिलो पृष्ठमै १५ विधेयक अलपत्र छाडेर सभामुख चीन जान लागेको, वार्ताका लागि सरकारले गरेको आह्वान विप्लवले इन्कार गरेको, कञ्चनपुरमै बलात्कारपछि अर्की बालिकाको पनि हत्या भएको, घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको, अयोग्य दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि पुनः सिफारिस गरिएकोलगायत खबर छन् ।

‘बिम्स्टेक सुदृढ बनाउने अठोट’ शीर्षक दिएर मुख्य समाचार लेखेको नागरिकले थ्री गर्जेजले सर्तैसर्त राखेपछि पश्चिम सेती अन्योलमा परेको लेखेको छ ।

नागरिकमै काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई अध्यक्षमा नियुक्त गर्न पुनः सिफारिस गरिएको खबर छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जनासहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

नागरिकका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष नियुक्ति गर्न बनेको सिफारिस समितिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

अन्नपूर्णमा पनि बिम्स्टेक शिखर सम्मेलन र पश्चिम सेतीबारेकै खबर छ । नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे छानबिन गर्न समिति परिवर्तन भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।

नयाँ पत्रिकामा काठमाडौंको फोहोर उठ्न छाडेको, कञ्चनपुरमै अर्की बालिकाको बलात्चकारपछि हत्या भएको खबर छ । नयाँ पत्रिकाका अनुसार कृष्णपुर नगरपालिका ८ शान्तिपुरको १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि हत्या भएको हो । यसबारे प्रहरीले चासो नदेखाएपछि परिवारले नै आरोपीलाई समातेर बुझाएका छन् ।

कान्तिपुरले आजदेखि शुरु हुने बिम्स्टेक शिखर सम्मेलनकाे मुख्य प्राथमिकता व्यापार र ऊर्जामा हुने लेखेको छ । १५ विधेयक अलपत्र पारेर सभामुख कृष्णबहादुर महरा चीन जान लागेकोलाई पनि कान्तिपुरले महत्त्वका साथ प्रकाशित गरेको छ । मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झण्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठक रोकेर चीन जान लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here