गाेरखा । प्रविधिमैत्री शिक्षक समाज गोरखाले जिल्लाका ३०० जना शिक्षकहरुलाई एकैसाथ शिक्षण सिकाई क्रियाकलापका लागि प्रविधि सिकाएको छ । प्रविधिमैत्री शिक्षक समाज गोरखा को आयोजनामा भदौ ६ गतेदेखि १५ गतेसम्म १० दिन वैकल्पिक सिकाई सहजीकरणमा सूचना प्रविधि नाममा शिक्षकहरुका लागि १० दिने अनलाइन कार्याशाला सञ्चालन गरेको थियो ।
दुई दर्जन भन्दा धेरै दक्ष प्राविधिकहरुले कार्यक्रममा सहजीकरण गरेका थिए । खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा.लेखनाथ शर्माले उद्घाटन गरेका उक्त कार्यक्रममा गोरखा जिल्लाका ८ वटा गाउँपालिका प्रमुखहरुले समेत भाग लिएका थिए ।
कोरोना भाइरस (कोविड १९) संक्रमणका लागि देशैभरीका विद्यालयहरुमा पठनपाठन हुन नसकिरहेका बेला प्रविधिमैत्री शिक्षक समाज गोरखाले शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुको सिकाईमा लगाउने उदेश्यका साथ तालिम सञ्चालन गरेको समाजका गोरखा जिल्ला अध्यक्ष गणेशराज सापकोटाले जानकारी दिए ।
कार्यक्रम समापनका दिन गण्डकी प्रदेशका भूमी व्यवस्था , कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले स्थानीय तहले प्रविधिलाई प्रयोग गरेर बालबालिकाहरुलाई शिक्षण गर्नुपर्ने बताएका थिए । कार्यक्रममका प्रमुख अतिथि रहेका मन्त्री थापाले प्रदेशका पालिकाहरुलाई वैकल्पिक शिक्षण सिकाईका लागि आफूले प्रोत्साहन गर्ने बताएका हुन् । कक्षाकोठामा भेला भएर मात्र सिकाई हुन्छ भन्ने प्रवृति अहिलेको प्रविधिले गलत सावित गरिदिएको उनको भनाई थियो । सिकाईलाई निरन्तरता दिन वदलिदो परिवेश अनुसारको सिकाई प्रक्रियामा जानुको विकल्प नभएको मन्त्रीले बताए । पुरानै शैलीबाट चल्ने हो भने विकास र परिवर्तन किन चाहियो भन्दै मन्त्री थापाले प्रविधिमैत्री शिक्षक समाज गोरखाले गरेको काम अत्यन्तै सह्राननीय रहेको बताए ।
प्रविधिको प्रयोग गरी सिकाई सहजीकरण गर्ने उदेश्यका साथ भुपती बस्यालले प्रविधिमैत्री शिक्षक समाजको गठन गरेका थिए । लकडाउनसँगै गोरखमा पनि यसको गठन भयो र यसले वैकल्पिक शिक्षण सिकाइका क्षेत्रमा जिल्ला भरीका शिक्षकहरुलाई प्रशिक्षण दिएर विद्यालयलाई प्रविधिमैत्री बनाईरहेको छ ।






