मुक्तक १
सुकिसक्यो काम गर्दा गर्दै गला बा-आमाको
तर ऊ भन्छ यो कस्तो चर्तीकला बा-आमाको
सुख सयलमा रमाउन थाले पछि सन्तानले
किन गर्छन् खै मानसिक हमला बा-आमाको
मुक्तक २
खुसिमा चढाइन्छ कुनै पिरमा चढाइन्छ
पैतलाले कुल्चिन्छ केही शिरमा चढाइन्छ
आ-आफ्नो भाग्य हो भन्थे हो कि झै लाग्छ
घाटसम्म पुग्छ कुनै फुल मन्दिरमा चढाइन्छ
मुक्तक ३
उदास चेहरा त्यो देख्छु आँखामा पानी हजुरको
सुन्छु भिज्छन् रे अचेल रातमा सिरानी हजुरको
हाँसि खुसि नै देखिन्थ्यो ती विगतका दिनहरु
कि त बिग्रियो र जिन्दगीको कहानी हजुरको
मुक्तक ४
लौ न कोही त भनिदेऊ कता हरायो
यहाँ अस्तित्व हरायो मानवता हरायो
हाम्रालाई आत्मसात गर्नेहरुको भिडमा
राम्रालाई राम्रा हुन् भन्ने सक्षमता हरायो
मुक्तक ५
हुनेछ पक्कै पनि त्यो दिन हुनेछ
जुन दिन सबको मुहार मलिन हुनेछ
आँसु बगिरहदा यी परेलि डिलबाट
आफैलाई नै सम्हाल्न कठिन हुनेछ
दुर्गा बुलबुल श्रेष्ठ
धादिङ






