कविता : देश हो – मृतुको घर !!

बुधबार, भदौ ३१, २०७७
0
169

सारा रक्त वही वही भुवनमा उफ्रन्छ कोलाहल
आफ्नै यी मुटुमा तिता अझ तिता जम्दा हलाका हल!
छैनन् शान्ति कतै छ बिज एउटै रट्दै यही हर्दम
भन्छौ मानिस देश देश किन यो टुक्राउँदै गर्दन??

सीमा नित्य भरी भरी छ शरको ओच्छ्यान तीखो तर
लद्दाखी जिमिमा छ जुर्मुर सधैँ बारुद बल्ने ज्वर!
छन् पर्खाल छुने छुने सगरझैँ मान्छे थुनेका तर
भन्छन् मानिस देश देश किन हो आफै बनी जर्जर??

पैलो विश्व भयो भयो अझ भयो सङ्ग्राम दोस्रो तर
लाखौँ लाख जले अनाहक बले मान्छे सबै सुन्दर!
उठ्ने उग्र सुनाम नामक महाँ मारहरूका ज्वर
भन्छन् मानिस देश देश किन हो आफै बनी काँतर??

बज्छन् बज्न नसक्नु साइरनका बाजा पसी कानमा
फुट्छन् बारुदका बमाबम सबै पुग्छन् मरुद्यानमा!
बल्छन् प्रेमपरागका वन सब‌ै जीवात्म बल्छन् सब
भन्छन् मानिस देश देश किन हो?के मृत्यु हो गौरव??

घोप्ने चीन छ भित्र भित्र विषका प्याला भरी छर्दछ
अर्को बाघ छ अम्रिका गगनमा आँखा तरी हेर्दछ!
साना छन् विचरा चरा तर सबै जप्छन् यही नाम यो
भन्छन् मानिस देश देश किन खै?मृत्यु बनेको छ यो??

छैनौँ छैन”म”नै भने छ र कतै सीमा रहेको ममा
अन्धा अन्ध अपाच्यको लहड यो हो देउकी वा झुमा?
मान्छे सक्न स्वयँ छ उद्यत भने उद्यान के काम भो
भन्दै मानिस देश देश सकिदै के काम भो देशको??

उड्छन् र्याफल वा विमान नभमा क्षेप्यास्त्र छन् सानमा
तैनाथी सब शस्त्र सैनिक खडा भूमध्य सीमान्तमा!
मेरो भन्दछ एक क्रूध्द अरु भै मेरो भनी भन्दछन्
यो सानो भ्रम देश भित्र किन हो मान्छे सबै झुम्दछन्??

ऐले भारत चीन यो शिविरमा उक्लेर चिच्याउँछन्
लल्कार्दै सब विश्व जुर्मुर हुने पारेर घिच्याउँछन्!
लाग्छन् बज्न यता छ साइरनको चर्को सुनामी पल
गर्छन् मानिस देश मृत्यु मुखमा ल्याई सधैँ खल्बल!!

कलानिधि  दाहाल                                      काठमाण्डौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here