पैसाको कारखाना चलाउने
भावना र अपनत्व गुमेका मान्छे जसरी – उस्कै अगाडिबाट उहिसंग घुँडो ठोक्काउँदै -आफ्ना कोठाभित्र पस्नुभयो मेम ।
मैले इसारा गर्दै मेरि साथी मालीलाई भने – उ तिम्री
भाउजुपनि आइपुग्नु भयो
मेरो कुरालाई ध्यान दिइन क्यार मालीले
खुसी हराएका झैँ देखिने उस्का अनुहारमा कुनै प्रतिक्रिया देखिएन !
आमा घर पछाडिको झ्यालबाट एउटा मैलो झोलामा
खै के हो कुन्नि – बाहिरतिर छिराइदिदै हुनुहुन्थ्यो
माली यताबाट इसारामा भो पर्दैन पर्दैन भन्दै
रातो पिरो हुँदै थिइ
म खुर्रर पछाडिबाट घुमेर गएँ र पोको च्याप समातेँ
अनि आमाले भनेजस्तै नदेखिने गरि
आफ्नो फरियाको फेर भित्र घुसारेँ
आमाले अब जाओ भनेर संकेत गरेपछि
हामी मालीको माइतीघरबाट बाटो लाग्यौं
मलाई त्यो झोलामा त्यस्तो के होला भन्ने
उत्सुकता बढी रहेको थियो
मालीको माइतीको गेट कट्नासाथ मैले त्यो झोलामा
हात हाल्न खोजेँ
तर मालीले मेरा हातबाट फुत्त झोला झम्टि र नबोलि
आफ्नो खोकिलामा चेपेर अगाडि बढी
मैले उस्को अनुहार पढ्न चाहेँ र बिस्तारै चिहाएँ
ऊ मलिन देखिन्थि
निकै पर पुगेपछि दोबाटोको एउटा फलैंचामा थ्याच्च बसि
अनि – ल हेर ..! यही हेर्न खिजेकि थिस् हैन तैंले .? भन्दै
म तिर झोला फ्यात्त फाल्दिइ ।
मैले चुपचाप झोला समातेँ र खोलेर हेरेँ – र
हैरान भएँ
झोलभित्र तिनवटा स साना घिरौंला- एकमुठि रायो र
तिनवटा कर्कलोको साप्रो थियो !
मलाई अचम्म लाग्यो
मैले केहि कुरा भन्न नपाउँदै उस्ले भनि
शितल !
माया ,दया , स्नेह , सद्भाव र सम्मानपनि
आफ्नो औकात अनुसारको भाग लाग्दा रहेछन्
हिजो मेरो घर थियो ,परिवार , सम्पत्ति र इज्जत थियो
यही ज्यानले हो – आफ्नो हुँदा
सारा आफन्तलाई आवस्यकता र सिजन अनुसार
बोरा र पोका बानेर दिएर खाएको ।
घरमा भएको त भइहाल्यो- नभएको समेत सामान
किनि किनि मेरा छोराछोरी मेरा भाइ बैनि –
मेरा भान्जो भतिजो सम्झि सम्झि कार्टुनम ट्याग हालेर
यिनै हातले हो पोको पारेको।
तर समयले आज यस्तो दिन देखायो
आफ्नो नहुँदा आज
मैले बोकेको पोकोको सबैलाई खोजि हुने
जाबो घिरौंलो … लुकाएर लानपर्ने मैले
अँहँ – भरोसा पनि छैन शितल
फ़ेरि जीवन उस्तै गरि बित्नेछ मेरो
हिजो बिते जसरी
मैले पनि सन्तानका निमित्त केहि गरौंला भनेरै आँटेँ थेँ हिजो भविस्यको बात कस्ले जान्ने .?
जिन्दगीभर फ़ेरि दुई खुट्टा टेकेर उठ्न नसक्ने गरि
दलदलमा धसिएँ ..
आफूले बजाएको मादलुको तालमा कहाँ नाच्दो रहेछ र
सधैं जीवन .! जुन नियम मानिसहरूको स्वार्थ भन्दा फरक छ
कस्का बसमा रहेछ र समय ..?
तर म खुसी छु
यो घिरौंलामात्र कहाँ हो र शितल
यो त मेरि आमाको मुटु हो माया हो – स्नेह प्रेम र मातृत्व हो । अनि अपनत्व हो ।
लाग्छ
अझै त म धनी नै छु –
किन कि
मेरि आमा छउन्जेल मैले माया खोज्न
अन्त कहिँ जान पर्दैन – बस्
निशब्द
मैले
मालीलाई हेरि रहेँ
उस्ले मलाई देखाउन खिसिक्क हाँसी
तर
उस्का आँखाबाट अहिलेपनि सहस्र पानी बगिरहेका थिए !!
विमला कार्की
धरान – १७






