असाेज ७, काठमाडौं । सरकारलाई इन्सिडेन्स कमान्ड सिस्टम (आइसिएस)ले सक्रिय कोरोना संक्रमित २५ हजार नाघेमा बन्दाबन्दी गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको बैठकले सक्रिय संक्रमित २५ हजार नाघेमा बन्दाबन्दी गर्न सरकारलाई सिफारिस गरेको हो।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रियको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरिएको जानकारी दिएका हुन्। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्नु पर्ने निष्कर्ष निकालेको प्रवक्ता गौतमले बताए।
प्रवक्ता डा. गौतमले स्वास्थ्यसम्बन्धी निकायको मौजुदा भौतिक संरचनाका कारण २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय भएको बताएका थिए।
बैठकले संक्रमण दर बढिरहेको र जोखिम उच्च नै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको गौतमले जानकारी दिए।
त्यसैगरी विभिन्न अस्पतालले शुल्क बढी लिएको सम्बन्धमा गुनासो आएकाले स्वीकृति दिने निकायले कडाइ साथ अनुगमन गर्ने र कारबाही गर्ने निर्णय पनि आइसिएसले गरेको छ ।
बैठकले असोज पहिलो सातासम्म जनस्वास्थ्यका मापदण्ड पालनाको अवस्था हेर्दा सिसिएमसीमार्फत कडाइसाथ अनुगमन गरी कारबाही गर्ने निर्णय पनि गरेको गौतमले जानकारी दिए।
यस्तै, बैठकले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले बताए। बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ।
सम्बन्धित समाचार





