म शिशाको रित्तो रित्तो बोतल
हो, पिइसकेको बिर्को बिनाको खाली बोतल
रित्तिनुको अनेक कारणहरु छन्
सबै तिमी हौ!
तिमी भनेको
तपशिलका मान्छेहरु!
मलाई भरेर बिर्कोले कैद गर्ने निर्दयी मन
दराजमा मलाई बन्दी गरेर राख्ने
निर्मोही हृदय!
र मलाई फोरेर पिउने कठोर पत्थरको मुटु
मलाई पिएर उनीहरुले उत्सव मनाए!
मलाई रित्याए आफूलाई रिल्याक्स बनाए।
म रित्तिए पनि
रित्तिएको बोतलकै स्वरुपमा छु
यदि म आफै ढुङ्गामा बजृएर
बिस्फोट हुनु पर्यो भने
र अनगिन्ती टुक्राहरुमा टुक्राटुक्रा भएँ भने
जोगाउनु आफैले तिमीहरुको पैतालाहरु
याद रहोस्
शिशाका बोतलहरु
टुक्राटुक्रा भए पछि मात्रै धारिला हुन्छन् ।
बरु म कुरुप भएर बाँच्न चाहन्छु
तर अन्याय र अत्याचार सहन सक्तिनँ
खाली हुनुमा, रित्तो हुनुमा
स्वयंमा कुनै कारण हुँदैन
त्यसैले रित्तिएकाहरुलाई घृणा नगर।
राम योन्जन`गाउँले´






