आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले मुक्ति चाहेका छन् : पूर्व राजा ज्ञानेन्द्र शाह

बिहिबार, कार्तिक ६, २०७७
0
303
Former King Gyanendra Shah speaking at a press conference before leaving the Narayanhiti Palace, 14 days after the nation was declared Republic, on June 11, 2008. Photo: THT/ File

कात्तिक ६, काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान परिस्थितिप्रति आक्रोश पोख्दै नेतृत्वलाई सचेत गराउँदै  आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले मुक्ति चाहेकाे बताएका छन् । यतिबेलाकाे अवस्थालाइ उनले उक्त सँज्ञा दिएका हुन ।  उनले कोरोना भाइरस संक्रमण रोकथाममा सरकारको अव्यवस्थाको पनि आलोचना गरेका छन् ।

बिहीबार बडा दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको टिप्पणी गरेका हुन् ।

सन्देशमा शाहले लेखेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको उल्लेख छ ।

जनता बचाउन सके मात्र राजनीति र राज्य बच्ने चेतावनी दिँदै पूर्वराजा शाहले भनेका छन, ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’

विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको आरोप पनि लगाउनु भएको छ ।

‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएकामा चिन्तित पूर्वराजा शाहले दैनिक जिविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको बताए ।

वर्तमान परिस्थितिप्रति कटाक्ष गर्दै शाहले लेखेका छन, ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले  उन्मुक्ति चाहिरहेका छन् ।’

‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको पनि उनले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here