कविता : हाम्रो सम्बन्ध

शुक्रबार, कार्तिक १४, २०७७
0
329

म अर्थात मेरो मुटुलाई-
बाटो बिछ्याएर हिँड्यो- ढुङ्गा-माटो र अरू अरू पनि,
मलाई टेक्यो, कुल्चियो फूलका पैतालाहरूमा।

सम्झौताको समय- कुरुप अनुहारहरू बीच,
धर्ती र आकाश बनेर
मृत्यु बराबरको संकटको पहाड उभियो!
र खस्यो पहिरो जीवनसँगै उभिएको पीडाको अग्लो पहाड।

म बाटो भत्किएर-
हिँडिरहेँ मुटुको किनारै किनार!
म छाती थुनिएर- रोकिँएँ आफ्नै जीवनको आँगनै आँगन।

म हरेक साँझ झुट बनेर
रातसँग अनावश्यक बोल्न थालेँ, जून, तारा देख्न छोडेँ
र उदाउँने प्रत्येक बिहानीसँग-
आफूलाई एउटा एउटा कवितामा कोरेर
झरेको आफ्नै आँसुमा परिवर्तनको पाइला टेक्न थालेँ।

यही बेला तिम्रो मौनतामा-
संसार सबैभन्दा जटिलता लाग्यो।

र यति बेला नै-
तिमीले हिँड्ने तिम्रो बाटो खुकुरीको धार जस्तो लाग्यो
सहाराको लागि तिम्रो हातले लिएको लठ्ठी
प्रतिकूल समयको गोमन जस्तो लाग्यो।

म त के गर्न सक्छु र?
आफ्नो आजसम्मको जवानी बेचेर तिमीलाई खरिद गरेको मान्छे।

अझै पनि प्रत्येक पल म बेचिन्छु र तिमीलाई किन्छु।

मेरो मुटुबाट पलपल!
पीडाको पहिरो खस्ने तिमी हौ
तर हिँड्दा- मलाई निर्मम टेकेर हिँड्ने तिमी हौ।

मेरो रगतको नशा नशामा बग्ने-
तिम्रा मुटुका ढुङ्गा-माटाहरूले मलाई बगाइरहन्छ पीडाको नदी
र तिमीलाई उभ्याइरहन्छ खुसीको पहाड।

हाम्रो सम्बन्ध यति भो,
मैले आफ्नो पसिना र आफूलाई बेचुन्जेल।

राम योन्जन`गाउँले´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here