समय भनेको-
बगिरहने खोलाको पानी जस्तै हो भन्छन्
जो बगिरहन्छ-
खोलाले बगर छोडे जस्तै समयले मलाई छोडेर।
म जन्मिनु समय नै होला
म दिनहुुँ हुर्किदै जानु समयकै तागतले होला,
मनभरिभरि असीमित रहरहरू बढ्दै जानु-
समयकै कारण होला।
हुन पनि हो,
फूल उमार्छ समयले- माटोको गर्भ फोरेर
फूलाउँछ समयले नै- आफू रङ्गिन हुन्छ!
झार्छ फूलहरू समयले नै-
र आफू निर्दयी बन्छ।
हरेक पल पल समयले नै-
जिन्दगीलाई परिभाषित गर्दै जाँदो रहेछ
हिजो जस्तो आज नहुँदो रहेछ
सायद आज जस्तो भोलि हुन्न होला।
यो समयले-
मलाई यहाँसम्म डोर्याएर ल्याउँदा ल्याउँदै,
मेरो निर्दोष मुटुमा प्रेम उमारेर-
किन मेरो प्रिय मान्छेलाई अन्त कतै लिएर जान्छ?
र किन उसलाई पराइको हत्केलामा थमाइदिन्छ? आखिर किन??
सेकेन्ड,मिनेट,घन्टा, दिन, महिना र वर्ष भएर
यो समय- किन मलाई जिन्दगीको पीडा दिएर जान्छ?
मभित्रबाट- निस्किरहने चाहनाका बहाबहरूलाई
निकास नदिएर किन पर्खाइरहन्छ मलाई?
ए समय !
म जिन्दगीको बगर भएर अब अझै कति बाँच्नु ?
ए समय!
यो हावा जस्तै प्रेमिल सुगन्ध लिएर
आऊ मेरो अनुहारलाई रङ्गिन बनाउन!
मेरो दिलको चाहहरू फूलाइदिऊ ओठहरूमा
समय म पर्खिरहेछु तिमीलाई-
यो जिन्दगीलाई अप्ठ्यारो बाटोमा हिँडाउँदै हिँडाउँदै।
राम योन्जन`गाउँले´






