काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुलाइ आइस्याे,खाइस्याे भनेर सम्बाेधन गर्ने तर हामीहरुलाइ आउ भन्ने भन्दै राजाहरुलाइ जस्तै सभ्य भाषाकाे प्रयाेग गर्न पत्रकारहरु र उनका पार्टीका कार्यकर्ताहरुलाइ सुझाव दिएका छन् ।
सम्बोधनको अधिकांश समय पत्रकारिताकै विषयमा बोलेका ओलीले सभ्यता नभुल्न आग्रह गरे । सबैलाई तिमी भनेर पत्रकारहरुले आफ्नो सभ्यता बिर्सिएको ओलीले दोहोर्याए ।
भाषाबारे उदाहरणका रुपमा ओलीले राजतन्त्रकालीन समयको सम्बोधन सुनाएका थिए । ‘हिजो राजतन्त्र हुँदा, दरबार हुँदा, राजाको श्रीमती हुँदा, छोराछोरी हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौं ?’ उनले भने ।
दरबारमा प्रयोग हुने भाषाबारे केही उदाहरण पनि ओलीले सुनाए, ‘हेर्नुस् न भन्दैनथ्यौं, आज त हामी हेर्नुस् न होइन, हेर‘ । उहाँले भन्नुभयो भन्दैनथ्यौं, हुक्कुम बक्सियो । हेर्नुभयो भन्दैनथ्यौ थियौ, नजर भयो ।’
तर, आजभोलि सबैलाई पत्रकारहरुले तिमी भन्ने गरेकोमा ओलीले आपत्ति जनाए । ‘उहाँले खानुभयो भन्दैनथियौं, ज्युनार भयो । हिँड्नुभयो भन्दैनथ्यौं, सवारी भयो । आज हामीलाई हिँड्नुभयो, खानुभयो भन्न पनि गाह्रो छ । हिँडे, खाए । उनले हेरे, यस्तो भाषा मात्रै बोल्छौं’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले मानव समाज चरा जस्तो नभएकाले सभ्य भाषा प्रयोग गर्न आग्रह गरे । ‘पखेटा उम्रेपछि चराले बाआमा चिन्दैनन् । को थियो, थियो ?’, ओलीले भने । उनले बाआमा, हजुरआमाहरुलाई तिमी भन्ने भाषा प्रयोग मामुली कुरा नभएको टिप्पणी गरे ।
हलमा उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै उनले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे । उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’ आफ्ना पक्षमा समाचार लेख्ने पत्रकारहरु भेला गरेर उनले लामाे भाषण गरेका हुन् ।






