मुग्लिन, २९ फागुन । पहिरो रोकथाम कार्यको लागि भन्दै एक हप्ता देखि दैनिक साढे ४ घण्टा बन्द गर्ने गरिएको मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला हुने भएको छ। उक्त सडक खण्ड आज दिउँसो ३ बजेदेखि २४ सैं घण्टा खुला हुने भएको हो।
सामाजिक संजाल फेसबुकमा सूचना जारी गर्दै मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो। उक्त सडकखण्ड पर्ने चारकिलो डाँडामा पहिरो रोकथामका कार्यहरु गर्नका लागि भन्दै मुग्लिन–नारायणगढ सडक आयोजनाले फागुन २३ गतेदेखि बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म सवारी आवागमन दुईतर्फी बन्द गर्ने गरेको थियो।
पहिरो रोकथामको काम सकिएसँगै आज ३ बजेपछि राजमार्ग २४ सैं घण्टा खुला गर्न लागेको हो। राजमार्ग खुला भएसँगै ट्राफिक नियमको पूर्ण पालना गरि सुरक्षित रुपमा यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।






