साउन ३१, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् । तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ ।
अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् ।
परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि + ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७-९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।
मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।